भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा
वि.सं.२०८३ जेठ २७ बुधवार १५:४५
shares

काठमाडौं, २७ जेठ । जिल्लाका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा सुरु गरेका छन् ।
जिल्लामा नौवटा स्थानीय तह रहेका छन् । अधिकांशले पालिकाले प्राविधिक टोली खटाएर विभिन्न वडामा धमाधम नापनक्सा कार्य सुरु गरेका हुन् ।
शुक्लाफाँटा नगरपालिका प्रमुख रणबहादुर महराले आजदेखि वडास्तरमा पुगेर नापजाँच सुरु गरिएको बताए । उनले नगरपालिकाका नंं ५, १० र ११ मा नापनक्सा भइरहेको जानकारी दिए ।
करिब १२ हजार सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेको शुक्लाफाँटा नगरपालिकाले नापजाँचको सबै कार्य सकिएपछि लालपुर्जा वितरणका लागि भूमि आयोगलाई बुझाउने जनाएको छ ।
यसैगरी, यहाँको कृष्णपुर नगरपालिकाले पनि दुई दिनअघिदेखि पालिकाभित्र नापनक्सा सुरु गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिको वडा नं ५ र ६ मा जग्गा नापनक्सा कार्य थालिएको सूचना अधिकारी प्रेम बोगटीले जानकारी दिए ।
यहाँको लालझाडी गाउँपालिकमा पनि केही वडाबाहेक सबै ठाउँमा नापनक्साको काम सकिएको छ । गाउँपालिकाका अध्यक्ष निर्मल रानाले वडा नं ५ मा पुनः नापनक्सा गर्नुपर्ने र हाल वडा नं १ मा काम भइरहेको जानकारी दिए । यस पालिकामा चार हजारभन्दा बढी सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित छन् ।















