Dhulikhel Eco Banner new

नागरिकताको प्रतिलिपि लिन अब गृहजिल्ला धाउन नपर्ने, उपत्यकामा प्रदेशअनुसार कार्यालय तोकियो

1.83K
shares

काठमाडौं,११ कार्तिक। नागरिकताको प्रतिलिपि लिन अब आफूले नागरिकता लिएको जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ। सरकारले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ लागू गरेसँगै नागरिकले आफूलाई पायक पर्ने जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था गरेको हो।

नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सेवा दिन तीनवटै जिल्ला प्रशासन कार्यालयलाई प्रदेशअनुसार जिम्मेवारी तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकले काठमाडौं, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले ललितपुर तथा कोशी र मधेश प्रदेशका नागरिकले भक्तपुरबाट सेवा लिन सक्नेछन्।

कुन प्रदेशका नागरिकले कहाँबाट पाउँछन् सेवा

  • काठमाडौं जिल्ला प्रशासन कार्यालय  : बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिक।
  • ललितपुर जिल्ला प्रशासन कार्यालय : कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिक।
  • भक्तपुर जिल्ला प्रशासन कार्यालय : कोशी र मधेश प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिक।
    गृह मन्त्रालयको कात्तिक ९ गतेको परिपत्रअनुसार उपत्यकामा सेवाग्राहीको चाप व्यवस्थापन गर्न प्रदेशगत रूपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको हो।

हराएमा, च्यातिएमा वा नष्ट भएमा प्रतिलिपि लिन सकिने

नागरिकताको प्रमाणपत्र हराएको, आगलागी वा पानीका कारण नष्ट भएको, च्यातिएर प्रयोग गर्न नमिल्ने भएको वा नयाँ ढाँचामा आवश्यक परेको अवस्थामा यो सेवा लिन सकिनेछ। बसाइँसराइ भएका नागरिकले पनि नियमअनुसार आफूलाई पायक पर्ने जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपिका लागि आवेदन दिन सक्नेछन्।

प्रतिलिपि लिन नेपाली नागरिकले सम्बन्धित स्थानीय तहको सिफारिससहित राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी पुर्जामध्ये आवश्यक प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ। आवेदनका क्रममा नागरिकता अभिलेख र राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीमा रहेका विवरण रुजु गरिनेछ।

विवरण नमिलेमा भने पुरानै जिल्लामा जानुपर्ने

नागरिकताको अभिलेख प्रणालीमा नभेटिएमा, पुरानो नागरिकतामा उल्लेख भएको नाम, थर, जन्ममिति वा अन्य विवरण परिवर्तन गरेर प्रतिलिपि लिन खोजिएमा अथवा नागरिकता शंकास्पद देखिएमा सम्बन्धित व्यक्तिले नागरिकता जारी भएको पुरानै जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

यस व्यवस्थाले रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि काठमाडौं उपत्यकामा बसोबास गर्ने नागरिकलाई नागरिकताको प्रतिलिपि लिन लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ। साथै, सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै सरकारी सेवा प्रवाह सहज हुने विश्वास गरिएको छ।