सामाजिक र सुरक्षा भत्ता घरदैलोमै वितरण
वि.सं.२०७९ साउन ४ बुधवार ०८:३७
shares

काठमाडौं, ४ साउन । सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला म्याग्दीका दुई स्थानीय तहले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् ।
रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्तीस्तरमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाएका हुन् । रघुगङ्गा गाउँपालिकाले वडा र बस्तीस्तरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । बैंकिङ प्रणालीमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई लाभग्राहीको थप सहजताका लागि गाउँपालिकाको समन्वयमा बैंकका कर्मचारीलाई वडा र बस्तीस्तरमै पुराएर वितरण गर्ने प्रबन्ध मिलाइएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए ।
रघुगङ्गाका आठवटै वडाका लाभग्राहीको प्रभु बैंकमा रहेको खातामा गत वैशाखदेखि असारसम्मको सामाजिक सुरक्षा भत्ता पठाइसकिएको र भौगोलिक कठिनाइका कारण गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म आएर भत्ता बुझ्न कठिनाइ भएपछि बैंकका कर्मचारीलाई बस्तीस्तरमा पुराएर वितरण गर्न थालिएको हो । गाउँबस्तीमा पुगेर भत्ता वितरणमा हुने सबै खर्च गाउँपालिकाले व्यहोर्ने जनाएको छ ।
रघुगङ्गामा कार्यतालिका नै बनाएर मङ्गलबार वडा नं ४ बाट गाउँबस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनका अनुसार मङ्गलवार वडा नं ४ दग्नामको वडा कार्यालय र दरमिजाको शिव आधारभूत विद्यालयबाट भत्ता वितरण गर्ने काम सकिएको छ ।
त्यसैगरी बुधबार वडा नं १ को बाँदुक र वडा कार्यालय बेग, बिहीबार वडा नं ७ को चिमखोला, साउन ७ गते वडा नं ६ को कोटगाउँ र वडा कार्यालय पाखापानी, साउन १० गते वडा नं ८ कुइनेमङ्गलेको वडा कार्यालय, साउन १२ गते वडा नं २ को वडा कार्यालय, देउराली आधारभूत विद्यालय र सीताराम टोल तथा साउन १३ गते वडा नं ३ को वडा कार्यालय र मालिका देवी आधारभूत विद्यालयबाट लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको छ ।


















