चिनिया नागरिक अपहरणमा न्यायधीशका पीएसओ पनि संलग्न
वि.सं.२०७९ साउन १९ बिहीवार १७:२३
shares

काठमाडौं, १९ साउन । राजधानीमा चिनियाँ नागरिकको अपहरणमा एक न्यायाधीशका पीएसओको समेत संलग्नता रहेको खुलासा भएको छ । पाटन उच्च अदालतका ती न्यायाधीशका पीएसओ रहेका प्रहरी हवल्दार चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेको खुलासा भएको हो ।
प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र अर्का एक प्रहरी जवानसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्ण बहादुर गुरुङ् सहित लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर, विनोद केसी र शिव सुनार रहेको प्रहरीले जनाएको छ ।
प्रहरी जवान शिव सुनार प्रहरी वृत्त बालाजुमा कार्यरत रहेको खुलेको छ । काठमाडौंको लैनचौरबाट दोभासे सहित चिनियाँ नागरिकलाई उनको फ्ल्याटबाट अपहरण गरेर उनीहरुले गोंगबुको एउटा होटलमा बन्धक बनाएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति चिनियाँलाई गोंगबुको एक होटलबाट उद्दार गरेपछि यसबारे खुलासा भएको हो । अपहरणमा संलग्न ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।















