ललितपुर १८ मा वर्षमा २६ दिन मासु बेच्न नपाइने, होलिडेमा बेचे कारबाही
वि.सं.२०७९ भदौ ७ मंगलवार १८:२७
shares

काठमाडौं, ७ भदौ । ललितपुर महानगरपालिका वडा नम्बर १८ ले हरेक एकादशी, बुद्धजयन्ती र महाशिवरात्रीमा मिट होलिडे गर्ने निर्णय गरेको छ । सोमबार वडामा रहेका मासु ब्यावसायी र वडा अध्यक्ष दामोदर खड्का सहित वडाको प्रतिनिधिसंग बसेको बैठकले सो निर्णय गरेको हो ।
निर्णय अनुसार सो वडामा वर्षमा २६ दिन मासु बिक्रीमा रोक लगाइएको छ । वर्षभरी २४ दिन एकादशी र २ दिन दुई ठुला चाड पर्छन । बैठकले गरेको निर्णयलाई मासु व्यावसायीले स्वागत गरेका थिए । मासु व्यावसायी कृष्णप्रसाद खड्गीले वडा कार्यालयको निर्णयलाई सबै व्यावसायीले स्वीकार गरेको बताए । उनले १८ संगै रहेको वडा नम्बर २५ लाई पनि यो नियम लागु गर्न आग्रह गरे ।
अर्का मासु व्यावसायी सुविन खड्गीले पनि वडाको निर्णयलाई कार्यान्वयन गरेपछि ब्यवहारी हुन बताए । बैठकमा बोल्दै वडा अध्यक्ष दामोदर खड्काले १८ सबै मासु व्यावसायीले गरेको निर्णयको स्वागत गरे । उनले ललितपुर महानगरपालिकाका २९ वडा मध्य यो निर्णय गर्ने १८ नम्बर वडा पहिलो भएको दाबी गरे । उनले वडावासीलाई स्वथ्य मासु खुवाउनुपर्ने, जो कोहीले देख्नेगरी काटमार गर्न नहुने, मासुको मुल्य सुचीमा एकरुपता गर्न मुल्य सूची राख्नुपर्ने लगायतको निर्णय भएको जानकारी दिए । ‘हामीले तपाईहरुकै साथ र सहयोगमा यो निर्णय गरेका छौ, यसलाई एक महिनाभित्र कार्यान्वयन गर्नुस,’ उनले भने ।
उनले सबैको सहमतिमा भएको निर्णय कार्यान्वयन भए नभएको विषयमा निरन्तर अनुगमन गर्न जानकारी दिए । वडा सचिव निरन श्रेष्ठले निर्णयबारे जानकारी गराउदै एक महिनाभित्र कार्यान्वयन गर्न आग्रह गरे । वडाले सबै मासु व्यावसायीलाई निर्णयमा हस्ताक्षर गराई प्रतिबद्धता जनाउन लगाएको छ ।
वडा सदस्य निरज कुँबर र गोपाल डंगोलले निर्णय कार्यान्वयन गर्नुपर्ने बताए । यसअघि वडा अध्यक्ष खड्का सहितको टोलीले वडाका सबै मासु पसलको निरीक्षण गरेको थियो । त्यसक्रममा देखिएका कमिकमजोरीको विषयमा छलफल गरी निर्णय भएको थियो । वडा अध्यक्ष खड्काले एकसाता अघि गरेको निरीक्षणपछि बैठक बोलाएर निर्णय गर्न लगाइएको बताए । उनले निर्णय कार्यान्वयन गर्नु व्यवसायीको मुख्य दायीत्व भएको बताउदै त्यसलाई कडाइका साथ लागु गराइने बताए ।

















