Dhulikhel Eco Banner new

मतदाता नामावली अध्यावधि गर्ने कार्य सुरु

4.86K
shares

काठमाडौं, १२ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबारदेखि मतदाता नामावली अध्यावधिक गर्ने कार्य सुरु भएको छ । निर्वाचन आयोगले पछिल्लो समय थप भएका र विभिन्न कारणले मतदाता नामावलीबाट नाम हटाउनु पर्ने भए आइतबारदेखि सम्बन्धित वडामा गएर जानकारी दिनका लागि आग्रह गरेको हो ।

आयोगले नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाउको छ ।

त्यस्तै मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम सूचीबाट हटाउनका लागि यही भदौ १३ देखि १६ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ । यसअघिको निर्वाचनमा मृत्यु भएका तथा विदेशमा भएका व्यक्तिको नाम मतदाता सूचीमा रहेको भन्दै आयोगको आलोचना हुँदै आएको थियो ।

आगामी मङ्सिर ३ गतेभित्र १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ । आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ ।

आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनदेखि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । त्यसअघिका निर्वाचनमा निर्वाचन मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आइएको थियो । निर्वाचनको मिति घोषणा भएको दिनदेखि मतदानको दिनभित्र १८ वर्ष पूरा हुने व्यक्तिले मतदान गर्न नपाउने व्यवस्था थियो ।

गत वैशाख २९ गतेसम्म ८७ लाख ४१ हजार पाँच सय ३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र एक सय ८३ अन्य गरी एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता १८ वर्ष पूरा भएका आयोगले जनाएको छ । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली संकलन सुरु गरेको थियो ।

सरकारले गत साउन १९ गते निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली संकलनको काम स्थगित गरेको थियो । मतदाता नामावली अद्यावधिक भएपश्चात् आगामी भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।