Dhulikhel Eco Banner new

प्रभु बैंकका हाकिममाथि कारबाही

1.64K
shares

काठमाडौं, ४ भदौ । प्रभु बैंकका एक हाकिमलाई आफ्नै व्यवस्थापकीय नेतृत्वले कारबाही गरेको छ । यसरी कारबाहीमा पर्नेमा बैंकर रमेश श्रेष्ठ रहेका छन् ।

श्रेष्ठ बैंकको उच्च व्यवस्थापन तहमा कार्यरत थिए । चिफ बिजनेस अफिसरको रूपमा कार्यरत रहेका श्रेष्ठलाई सीईओ सुमन शर्माले कारबाही गरेका हुन् । बैंकको उच्च व्यवस्थापन तहमै रहेका एक बैंकरका अनुसार श्रेष्ठमाथि डीसीईओ बन्न चलखेल गरेको आरोप लगाइएको छ । ती बैंकरले भने, ‘रमेश जी डीसीईओको दावेदार हुनुहुन्थ्यो, त्यहीँ निहुँमा सीईओसँग झगडा परेपछि समस्या पर्यो ।’

सेञ्चुरी कमर्सियल बैंकबाट मर्जर भएर प्रभु बैंक आइपुगेका श्रेष्ठ तत्कालीन सीईओ अशोक शेरचनको पनि तारो बनेका थिए । शेरचनले उनलाई चिफ मार्केटिङ अफिसर (सीएमओ) बनाए पनि कुनै काम नदिई जिम्मेवारीविहीन बनाएर राखेका थिए । सीएमओ श्रेष्ठ भए पनि सीएमओको काम भने बैंककी हर्ताकर्ता मानिने रश्मी पन्तले नै गर्ने गरेकी थिइन् । तत्कालीन सीईओसहित उच्च व्यवस्थापन पक्राउ परेपछि भने श्रेष्ठलाई चिफ बिजनेस अफिसरको जिम्मेवारी दिइएको थियो ।

त्यतिमात्रै होइन, रश्मी पन्त बस्ने कार्यकक्ष दिएर श्रेष्ठ बैंकका शक्तिशाली पात्र हुन् भन्ने सन्देश बैंकले नै दिएको थियो । तर, महत्वपूर्ण जिम्मेवारी पाएको केही महिनामै श्रेष्ठलाई सीईओ शर्माले कारबाही गरेका हुन् ।

के भयो कारबाही ?

श्रेष्ठलाई सीईओ शर्माले उच्च व्यवस्थापकीय तहबाट सिधै झारेर धनगढी पुर्‍याइदिएका छन् । बैंकमा कार्यरत अर्का अधिकारीका अनुसार घटुवा गर्ने मात्रै होइन, उनलाई स्पष्टीकरणसमेत सोधिएको छ ।

स्पष्टीकरण सोध्नुको मतलब उनीमाथि सीईओ अझ आक्रामक भएर कारबाही गर्ने सोचमा रहेका छन् । ‘रमेशजीमाथि डीसीईओ बन्न किन शक्तिकेन्द्र धाएको भन्ने आरोप छ ?’ ती बैंकरले केटिएम भ्वाइससँग भने, ‘चित्तबुझ्दो जवाफ आएन भने कारबाही गर्ने तयारी सीईओ सरको छ ।’