एनएमबी बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा रियल–टाइम ट्र्याकिङ प्रणाली सञ्चालन
वि.सं.२०८३ भदौ ४ बिहीवार १४:५२
shares

काठमाडौं,४ भदौ एनएमबी बैंकले आफ्नो डिजिटल रूपान्तरण यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा रियल–टाइम ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। नयाँ व्यवस्थासँगै ग्राहकहरूले अब बैंकसम्म धाइरहनुपर्ने तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्।
नयाँ डिजिटल पोर्टलमार्फत ग्राहकहरूले जुनसुकै स्थान तथा उपकरणबाट सहज रूपमा कर्जाका लागि आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया पूरा गरेपछि ग्राहकले तत्कालै अनलाइन कर्जा ट्र्याकिङ नम्बर प्राप्त गर्नेछन्। सोही नम्बर प्रयोग गरी आफ्नो कर्जा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी वास्तविक समयमै हेर्न सकिनेछ।
ग्राहकहरूले डिजी डट एनएमबी डट कम डट एनपी मा लगइन गरी कर्जा सेवा मा जानुपर्नेछ। त्यसपछि उत्पादनहरू हेर्नुहोस् विकल्पमा क्लिक गरी आफूलाई आवश्यक कर्जा शीर्षक छनोट गर्नुपर्नेछ। आवश्यक विवरणहरू भरेर आवेदन पेश गरेपछि ग्राहकले तत्कालै अनलाइन कर्जा ट्र्याकिङ नम्बर प्राप्त गर्नेछन्।
प्राप्त ट्र्याकिङ नम्बर प्रयोग गरी ग्राहकहरूले आफ्नो कर्जा आवेदनको अवस्था तथा प्रक्रिया कुन चरणमा पुगेको छ भन्ने जानकारी सहज रूपमा हेर्न सक्नेछन्।
बैंकका अनुसार नयाँ प्रणालीले कर्जा स्वीकृत हुन लाग्ने समय घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई थप पारदर्शी, सरल, सहज र ग्राहकमैत्री बनाउनेछ। साथै, ग्राहकहरूले कर्जा प्रक्रियाका लागि आवश्यक कागजी काममा खर्च हुने समय र श्रमसमेत बचत गर्न सक्नेछन्।
नेपालमा आधुनिक तथा कागजरहित बैंकिङ सेवा प्रवर्द्धन गर्ने लक्ष्यका साथ यो सेवा सुरु गरिएको बैंकले जनाएको छ। सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटल बनाउँदै ग्राहकको अमूल्य समय बचत गर्ने तथा दिगो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने दिशामा बैंक प्रतिबद्ध रहेको जनाएको छ।
एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ।















