Dhulikhel Eco Banner new

आठ तोला सुनका गरगहना चोरी गर्ने दुई पक्राउ

5.58K
shares

काठमाडौँ, ७ असोज । नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका वडा नं १४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि –९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँकै २९ वर्षीय सुजन सुनारलाई बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घरमा रङ लगाउने व्यक्तिबाट सुनका गहना चोरी भएको अनुसन्धानमा खुलेको जानकारी दिए । उक्त चोरीका गहना किन्ने सुनारलाई समेत पक्राउ गरिएको प्रवक्ता मैनालीले बताए ।

पक्राउ परेकासँग प्रहरीले सुनका झुम्का दुई थान, सुनको बाला दुई थान, सुनको ब्रासलेट एक थान, सुर र पित्तलसहितको चन्द्रमा एक थान र नगद रु ६० हजार बरामद गरेको छ ।

प्रवक्ता मैनालीले पक्राउ परेका दुवै जनालाई मुलुकी फौजदारी अपराधसंहिता ऐन, २०७४ को डाका तथा चोरी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटबाट अनुसन्धान गरिरहेको बताए ।