देशका अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह
वि.सं.२०७९ असोज १८ मंगलवार १२:३२
shares

काठमाडौं, १८ असोज । सोमबार दिनभर सफा रहेको देश भरको मौसममा गए रातिदेखि बदली भएको छ । गएरातिदेखिको वर्षा अहिले पनि देशभर नै जारी रहेको छ ।
गएराति काठमाडौं सहित वागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रेशमा ठूलो वर्षा भएको मौसमविद्ले बताएका छन् । रातिदेखि परेको वर्षा अहिले पनि जारी रहेको छ । वर्षा अझै ठूला हुने सम्भावना रहेकाले सावधानी अपनाउनका लागि मौसमविद्ले आग्रह गरेका छन् ।
बिहान हल्का मात्रै वर्षा भए पनि दिउँसोदेखि वर्षाको मात्रा बढेको र त्यो राति अझ बढ्ने बताइएको छ । राति वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अन्य प्रदेशको तुलनामा कम पानी पर्ने अनुमान छ । तर भोलिदेखि यी प्रदेशमा पनि धेरै पानी पर्ने बताइएको छ । आजदेखि पूर्णिमासम्म नै पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।



















