यो वर्षको विश्व बसोबास दिवस भोलि मनाइदै, १० वर्षमा शहरी क्षेत्रमा बसोबास गर्नेको संख्या करिब ३ प्रतिशतले वृद्धि
वि.सं.२०७९ असोज ३० आइतवार १७:२८
shares

काठमाडौं, ३० असोज । यो वर्षको विश्व बसोबास दिवस भोलि मनाइने भएको छ । ‘समाबेशी शहरबस्तीको आवश्यकताः सबैको साझा प्रतिबद्धता’ भन्ने मुल नाराका साथ यो वर्षको विश्व बसोबास दिन मनाइने भएको हो ।
सन् २००१ देखि हरेक वर्षको अक्टोबर महिनाको पहिलो शनिबार मनाइदै आएको दिवस यो वर्ष भने दशैँको बिदा परेकाले असोजको तेस्रो सोमबार अर्थात भोलि आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । सन् २०२२ मा संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमले प्रकाशित गरेको प्रतिवेदन अनुसार विकशित देशमा ७९ प्रतिशत नागरि शहरि क्षेत्रमा बसोबास गर्दछन् । त्यस्तै यो संख्या सन् २०५० सम्म ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
त्यस्तै २०७८ सालमा गरिएको जनगणनाको प्रारम्भीक तथ्यांक अनुसार नेपालको ६६.०८ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा रहेको देखिएको छ । यो २०६८ सालको जनगणनाको तथ्यांकभन्दा करिब ३ प्रतिशतले बढी हो । २०६८ सालको जनगणना अनुसार नेपालको शहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या ६३.१९ प्रतिशत रहेको थियो ।
अहिले नागरिकलाई सुरक्षित आबासका लागि जनता आबास कार्यक्रम र सुरक्षित नागिरिक आबास कार्यक्रम कार्यान्वयनमा रहेको शहरी विकास मन्त्रालयका सह सचिव तथा विश्व बसोबार दिवस २०७९ मूल तयारी समितिका संयोजक ई. रामचन्द्र दंगालले जानकारी दिए ।
अहिले जनता आवश कार्यक्रम प्रदेश सरकारबाट र सुरक्षित आबास कार्यक्रम स्थानीय सरकार मार्फत कार्यान्वयन भइरहेको दंगालले बताए । भोलि आयोजना हुने कार्यक्रममा विभिन्न कार्यशाला गोष्ठी, दिगो शहरीकरणको विषयमा विज्ञहरुसँग छलफल गरिने बताइएको छ ।















