नगद सहायता पाएपछि कैलालीका बाढी प्रभावित खुसी
वि.सं.२०७९ असोज ३० आइतवार १८:३१
shares

काठमाडौं, ३० असोज । कैलालीको टीकापुर नगरपालिका–७ प्रतीपुरका दिलबहादुर दमाइँको अनुहारमा खुसी देखिएको छ । बाढीका कारण घरमा भएको अन्नपात तथा लगाएको धानबालीमा क्षति भए पनि उनमा त्यस्तो निराशा थिएन ।
विपद् पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमअन्तर्गत विश्व खाद्य कार्यक्रमले बाढीको जोखिममा रहेका परिवारलाई नगद सहायता लिएर बैंकबाट आएका दिलबहादुर केही दिनका लागि भए पनि परिवारको भोको पेट भर्न सकिने भएपछि खुसी भएको बताउछन् ।
“गत वर्षको जस्तो क्षति यसवर्ष भएको तर पनि नगद राहतले घरको जोहो टार्न केही दिनका लागि सहज हुने भएको छ ।”, दिलबहादुरले भने, “सबै गुमाउँदा पनि केही नपाएका हामीलाई अहिलेको राहतले ठूलो सहायता मिलेको छ ।” सोही वडाको डिबिपुरका पतिराम चौधरीको ११ जनाको परिवार छ । कृषि कर्म गरेर जीविकोपार्जन गर्दै आउनुभएका पतिरामको अधिकांश अन्नबालीमा कर्णाली नदीको बाढी र डुवानले क्षति पुर्यायो ।
पाकेर भित्र्याउने अवस्थामा रहेको धानबाली डुबानमा परेपछि उनलाई गत वर्ष कात्तिक १ गतेको झल्को दियो । गतवर्ष कात्तिकमा गएको बाढीमा उनको सबै धान नष्ट भएको थियो ।
केही महिना पहिले गाउँमा कसैले घरको तथ्याङ्क लिएको समेत पतिरामले भुलिसकेका थिए । गाउँमा चिरागीले बाढी प्रभावितलाई नगद सहायता प्रदान गर्ने खबर गरेपछि आफूले ठूलो राहतको महसुस गरेको पतिराम बताउछन् ।
“गतवर्ष त्यत्रो क्षति हुँदा कतैबाट केही सहयोग भएन । यसपटक पनि कतैबाट सहयोग हुँदैन भन्नेमा ढुक्क भएर बसेको थिएँ ।” पतिरामले भने, “बाढी विस्थापितलाई पन्ध्र हजार सहायता पाउने थाहा भएपछि मनले शान्तिको सास फेरे । केही महिना परिवारलाई खानको लागि भौतारिनुपर्ने अवस्था नआउने भयो भनेर ।”
जुगरानी चौधरी टीकापुर नगरपालिका–१ को गणेशपुर शिविरमा बस्दै आएका छन् । आठ जनाको परिवार ज्याला मजदुरी गरेर दैनिकी चलाउने जुगरानीको कुनै खेतिपाती छैन ।
खेतीपाती गर्नलाई नत जग्गा नै । असोज २३ गतेको बाढीका कारण माटोले पोतेको कच्ची घरका भित्ता भत्काउनुका साथै घरमा भएको अन्नपात समेतमा क्षति पुगेपछि निराश भएकी जगरानीलाई पनि नगत सहायताले घरको चुलो बाल्न सहज हुने भएको छ ।
“कतैबाट राहत पाइन्छ कि भन्ने आशामा बसेका थियौँं, नभन्दै केही महिनासम्मका लागि पुग्ने गरी सहयोग मिल्यो ।” जुगरानीले भने, “हामी पैसा नहुनेका लागि र दैनिक कमाएर जोहो चलाउनेका लागि १५ हजारले ठूलो सहयोग गरेको छ ।” उता शोभा नेपालीले चाडपर्वको समयमा पैसा नभएकै कारण राम्रोसँग मनाउन नसकिएको दुःखेसो गर्दै तिहारलाई राम्रोसँग मनाउने सोच भएको बताए । “बाढी र डुबान हाम्रा लागि बर्सेनिको समस्या हो ।
यो समस्याबाट छुटकारा पाइएला जस्तो पनि लाग्दैन ।” शोभाले भनिन्, “समस्या बर्सेनिको उस्तै । यसपटक समयमा सहयोग मिलेको छ । दसैँ त्यति राम्रो भएन, अब यसै पैसाले तिहारलाई राम्रो बनाउने र मीठो मसिनो खाने योजना बनाएकी छु ।”
यद्यपी बाढी पीडितले राहत नपाएको भन्दै दुःखेसो पनि गरेका छन् । नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर विक आफ्नै आसपासका छिमेकिले राहत पाए पनि आफूले नपाएको गुनासो गरेका छन् । उनले बाढीका कारण क्षति बराबर हुँदा पनि कसैले पाउने कसैले नपाउने हुँदा आफूहरूलाई दुःख लागेको बताए ।















