GBIME

छुवाछुतमुक्त राष्ट्र घोषणालाई कार्यान्वयन गर्न सकेका छैनौं : अध्यक्ष नेपाल

972
shares

काठमाडौं, ७ चैत । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना दिएका छन् ।

समाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना सन्देश दिँदै उनले लेखेका छन् ‘ नेपालमा दलित समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थाको प्रत्याभूति संविधानले नै गरेको छ । देशलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गर्नुका साथै त्यसलाई व्यवहारमा लागू गर्न जातीय छुवाछुत र भेदभाव (कसुर तथा सजाय) ऐन २०६८ लागू भइसकेको छ तर छुवाछुतमुक्त राष्ट्र घोषणालाई हामीले अझै अपेक्षाकृत रुपमा कार्यान्वयन गर्न सकेका छैनौं । ’

‘जातिवाद तथा रंगभेद विरुद्ध प्रतिवाद गरौं’ भन्ने अन्तर्राष्ट्रिय नारा र ’संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गरौं, जातीय छुवाछूत तथा भेदभावका विरूद्ध प्रतिरोध गरौं ।’ भन्ने राष्ट्रिय नाराका साथ ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाईदै छ ।

सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल्ले भन्ने नगरमा रगंभेदी कानुनविरुद्ध भएको शान्तिपूर्ण जनप्रदर्शनमाथि त्यहाँको राज्यसत्ताले काला जातिका मानिसहरु विरुद्ध गरेको नरसंहारमा ६९ जनाको हत्या भएको थियो भने ३ सय बढी आन्दोलनकारी घाइते भएका थिए ।

छुवाछूतलाई कानुनले दण्डनीय अपराधका रुपमा लिए पनि मन्दिर प्रवेशमा रोक लगाइएको, सामाजिक रुपमा बहिष्कार गरिएको जस्ता घटना दिनहुँ सुनिने गरेको छ त्यतिमात्र होइन, हत्याहिंसासम्मका घटनामा समेत राज्यकोतर्फबाट न्यायका लागि ठोस कदम चाल्न नसक्नु विडम्बना भएको उनको भनाई छ ।