२४ औँ फ्लोरो एक्स्पो सुरु
वि.सं.२०७९ चैत १७ शुक्रवार १०:५७
shares

काठमाडौं, १७ चैत । २४औँ फ्लोरा एक्स्पो मेला सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएशन नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आजदेखि एक्स्पो सुरु भएको हो ।
आउँदो सोमबारसम्म चेल्ने मेलामा झण्डै ८० वटा कक्ष रहेका छन् । पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित मेलाको आयोजना गरिएको एसोसिएशनले जनाएको छ । प्रदर्शनीमा ४५० वटाभन्दा धेरै प्रकारका फूल बिरुवाको खरिद बिक्री हुने एसोसिएशनले जनाएको छ । नर्सरी व्यवसायीद्वारा उत्पादित आलङ्कारिक फूल बिरुवा, मौसमी फूल, स्टल सजावट, बगैँचा सजावट, पुष्प सजावटजस्ता उत्कृष्ट विधामा प्रतिस्पर्धा गराएर पुरस्कृतसमेत गरिनेछ । मुख्य चाडपर्वमा केही फूल तथा माला भारतबाट ल्याउने गरिएको छ । तर अन्य समयमा प्रयोग हुने फूलमा नेपाल आत्मनिर्भर बनेको छ ।
विशेष गरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भएको छ । नेपालमा अहिले व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदैआएको छ ।



















