Dhulikhel Eco Banner new

ठगी धन्दा–२ : एउटा कोठा खोजिदिएको २५ सय देखि ५ हजारसम्म

11.06K
shares

काठमाडौँ, २३ पुस । काठमाडौँको आलोकनगरमा ‘कोठा खोज्ने पसल’ नाम गरेको कोठा खोजिदिने फर्म छ । त्यसले काठमाडौँमा कोठा खोजिदिने काम गर्छ । तर, त्यसको शुल्क यति महगो छ कि त्यो काठमाडौँमा डेरामा बस्नेले तिर्न सक्ने खालको छैन ।

पसलमा पान नम्बर र दर्ता नम्बर पनि लेखेर राखेको छ । सामाजिक सञ्जालमा पनि कोठा खोजिदिने पसलले त्यतिकै प्रचार गर्ने गरेको छ । समाजिक सञ्चालमा भिडियो सहितको निकै आर्कषक कोठा र फ्लाटहरु राखेर विज्ञापन गरिरहेको हुन्छ ।

त्यो पसलमा जादा सुरुमा एउटा फर्म भन्नु पर्छ । त्यो फर्म भर्नको लागि ५ सय रुपैया शुल्क लिन्छ । त्यती शुल्क तिरेपछि एक महिना सम्म कोठा खोजिदिन्छन् । तर, एक महिना सम्म पनि चित्तबुझ्दो कोठा नभेटीएमा भने फेरी अर्को ५ सय रुपैयाँ तिरेर फर्म भर्नु पर्छ ।

फर्म भरिसकेपछि त्यही फर्ममा आफुलाई कुन ठाउँको कोठा चाहिएको हो त्यो ठाउँको उनीहरुको एजेन्टको नम्बर दिने गर्छन् । त्यो नम्बरमा फोन गरेर आफैले ति मान्छेहरुलाई भेट्न जानु पर्छ । अनि उनीहरुको समय अनुकुल कतिबेला हुन्छ ? त्यो अनुसार आफु पसलले भनेको एनेन्टलाई भेट्न पुग्नु पर्छ । अनि ति एजेन्टहरुले कोठा देखाउछन् ।

रुम हेर्ने क्रममा यदि एक महिना भित्र कुनै कोठा मन परेमा भने थप २ हजार रुपैयाँ कोठा खोजिदिनेको लागि भन्दै तिर्नु पर्छ । त्यो पनि कोठा एउटा लिने हो भने मात्र फ्लाट हो भने फर्म भरेभन्दा पैसा अझ थप्नु पर्छ ।

एजेन्टले लिने २ हजार ‘हुन्छ यो रुम मनपर्यो’ भनेपछि तुरुन्त दिनु पर्छ । अनि मात्र उनीहरुले घरबेटीसँग भेटाउछन् । अनि `रुमको भाडा कति हो ?´ त्यो हिसावले घरबेटीसँग कुरा गर्नुपर्छ । अनि घरबेटीलाई रुपमा बस्न लागेको व्यक्ति मनपरेन भने फेरी पक्का भएको रुममा पनि बस्न पाईन्दैन ।

तर, कोठा खोजिदिने पसलले सामाजिक सञ्जालमा राखेको भिडियो जस्तो कोठा भने मुस्कीलले मात्र भेटाउन सकिन्छ । अन्यथा अध्यारो, पुरानो घरको, फोहोर हुने कोठाहरु मात्र पाईने गरेको त्यो पसलबाट कोठा खोजेका सप्तरीका रविन गिरी बताउँछन् ।

‘केही दिनको काम नै छाडेर मैले उनीहरुले दिएको नम्बरमा फोन गर्दै कोठा हेर्न गए’, गिरीले भने, ‘तर एउटा पनि गतिलो कोठा पाईन ।’

चाबहीलको स्थुपा नजिकै कोठा–जागीर गरेको एउटा फर्म छ । त्यसले पनि जागिर र कोठा खोजिदिने गर्छ । त्यसमा पनि खोठा खोजिदिने पसलमा जस्तै सुरुमा ५ सय रुपैयाँको फर्म भर्नु पर्छ ।

त्यो फर्म भरेपछि त्यसमा पनि एक महिना सम्म कोठा देखाउछन् । एउटा मात्र कोठा चाहिएको हो भने २ हजार, २ वटा कोठमा चाहिएको हो भने ३ हजार र फ्लाट चाहिएको हो भने ४ देखि ५ हजार सम्म फर्म भरेको ५ सय बाहेकको पैसा लिन्छन् । फर्म बाहेको पैसा आफुले लिने नभई खोजिदिने एजेन्टले लिने उनीहरुको भनाई छ ।

त्यस्तै, ‘कोठा खोज्ने पसल ग्वार्को’ नाम गरेको कोठा खोजिदिने कन्सलटेन्सिले कोठा खोज्नु भन्दा पहिले नै ५ सय रुपैयाँको फर्म भराउछ । त्यो फर्म भरिसकेपछि मात्र उसले भनेको ठाउँमा रुम देखाउने गर्छ ।

उसको पनि उस्तै प्रक्रिया छ । उसले पनि रुम कतिवटा चाहिएको हो ? कस्तो चाहिएको हो ? त्यो अनुसारको फर्म भरेको बाहेक अतिरित्त शुल्क लिने गर्छ ।

यो त केही प्रतिनिधि उदाहरण मात्र हुन् । काठमाडौँ उपत्यकामा यस्ता कयौँ सटरहरु छन् जसले कोठा खोजिदिने काम गर्छन् । उनीहरुलाई अहिले सम्म कुनै निकायाले पनि अनुगमन र नियमन गरेका छैनन् ।

उनीहरुले आफुखुशि कोठा खोजिदिने नाममा शुल्क उठाई रहेका छन् । उपत्यकामा कोठा पाउन निकै गाह्रो पर्ने गर्छ । त्यसैको फाईदा उठाएर काठमाडौँ बस्न चाहनेहरुलाई विभिन्न नाममा खोलिएका पसलहरुले ढाड सेक्ने गरि कमिसन लिरहेका छन् ।

स्थानीय तह त यो विषयमा बेखबर जस्तै छ । स्थानीय तह बेखर हुनुको फाईदा कोठा खोजिदिने फर्महरुले उपभोक्तासँग चर्को शुल्क लिने गरेका छन् । काठमाडौँ महनगरपालिकाले आफ्नोमा उजुरी आएका भने त्यसतिर कारबाही अगाडि बढाउने भनेको छ । महानगरले त्यसरी चर्को शुल्क लिनेको विरुद्धमा उजुरी गर्न समेत आग्रह गरेको छ ।

मिडिएटर बनेर काम गरिदिनु राम्रो कुरा भएको तर, अचाकाली शुल्क लिनु गलत भएको नेपाली उपभोक्ता सरक्षण महासंघका अध्यक्ष चन्द्र साउद बताउँछन् । ‘त्यसरी उपभोक्ताले चर्को मुल्य तिर्नुुपर्ने बाध्यता छ यो राम्रो कुरा होइन’, अध्यक्ष केटिएम भ्वाईससँग भन्छन्, ‘सम्बन्धित निकायले यो विषयमा चाँडो ध्यान दिनुपर्छ ।’

कसैले उजुरी नगरेपनि आम व्यक्तिले भोगिरहेको समस्याको विषयमा स्थानीय तहहरुले आफ्नो अनुगमन अगाडि बढाउनु पर्ने साउदको माग छ । यदि स्थानीय तहले मात्र कोठा खोजिदिने नाममा भएको चर्को शुल्क लिने कार्य अनुगमन गर्ने हो भने मात्र पनि केही हद सम्म भएपनि रोकिन्छ ।

Follow Up

कोठा खोजिदिने नाममा खुलेआम ठगी धन्दा

कोठा खोजिदिने नाममा खुलेआम ठगी धन्दा