Dhulikhel Eco Banner new

समाचार चित्त नबुझे उजुरी लिने निकाय प्रेस काउन्सिल हो : पत्रकार महासंघ

2.57K
shares

काठमाडौं, २८ जेठ । नेपाल पत्रकार महासंघले नेपालखबर डटकम र बिजमान्डु डटकममा प्रकाशित समाचारबारे जिल्ला अदालत काठमाडौंले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले प्रेस स्वतन्त्रताविरुद्धको यो आदेश संविधान, अन्तर्राष्ट्रिय मान्यता र प्रेस अभ्यासको विपरीत भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलवार समाचार हटाउन र पुनः प्रकाशन नगर्न अन्तरिम आदेश दिएको थियो। आदेशमा अप्रमाणित र तथ्यहीन समाचार प्रकाशन नगर्नुका साथै पहिल्यै प्रकाशित सामग्री पनि अनलाइनबाट हटाउन भनिएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित समाचारको विषयमा चित्त नबुझेको अवस्थामा उजुरी लिनु र आवश्यक कारबाही गर्नु प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा पर्ने भन्दै अदालतको आदेशले प्रेस स्वतन्त्रताको मर्म उल्लंघन गरेको जनाइएको छ।

“संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ, “प्रेस स्वतन्त्रताको यो संवैधानिक व्यवस्थालाई कुनै पनि निकायको आदेशले सीमित गर्न सक्दैन।”

महासंघले अदालतको उक्त आदेशप्रति पुनर्विचार गर्न आग्रह गर्दै, अन्यथा कानुनी तथा संस्थागत रुपमा प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

महासंघले सञ्चारमाध्यमहरूलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सामग्रीको सत्यता र विश्वसनीयता कायम राख्न आग्रह गरेको छ। साथै, स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारितामाथि हस्तक्षेप हुने खालका कदमहरूप्रति निरन्तर खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ।