चाँदी आयात गर्ने उद्योगलाई २० लाख डलरसम्म सटही सुविधा
वि.सं.२०८२ पुस १३ आइतवार १६:२४
shares

काठमाडौं, १३ पुस । अब चाँदी आयात गर्ने उद्योगहरूले महिनामा एकपटकसम्म २० लाख अमेरिकी डलरसम्म सटही सुविधा लिन सक्ने भएको छ । नेपाल राष्ट्र बैंकले आइतवार परिपत्र जारी गर्दै चाँदी आयातका लागि उपलब्ध विदेशी मुद्रा सटही सुविधाको सीमा उल्लेख्य रूपमा बढाएको हो।
यसअघि चाँदी आयातका लागि प्रतिपटक एक लाख अमेरिकी डलरसम्म मात्र सटही सुविधा उपलब्ध थियो। नयाँ व्यवस्थाले उक्त सीमालाई बढाएर उद्योगका हकमा २० लाख डलर र व्यवसायीका हकमा चार लाख डलरसम्म पुर्याएको छ।
राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा सञ्चिति सुदृढ बन्दै गएपछि आयातसम्बन्धी सटही नीतिमा लचकता अपनाइएको हो। पछिल्लो समय विदेशी मुद्रा भण्डार निरन्तर बढ्दै जाँदा केन्द्रीय बैंकले आयात व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले यस्तो निर्णय लिएको जनाएको छ।















