Exclusive : लघुवित्त इन्डष्ट्रीमा सञ्जीवनीको इन्ट्री, ११९ करोड पुँजीबाट सेवा शुभारम्भ हुँदै
वि.सं.२०८२ पुस १४ सोमवार १९:००
shares

काठमाडौं, १४ पुस । नेपाली लघुवित्त वित्तीय क्षेत्रमा अब नयाँ संस्थाको नाम थपिएको छ । सञ्जीवनी लघुवित्त वित्तीय संस्थाले अब आफ्नो सेवा शुभारम्भ गर्ने भएको हो । ७ वटा बैंक तथा वित्तीय संस्थाको लगानीमा सञ्जीवनि लघुवित्तले सेवा सुरु गर्ने भएको हो ।
यो लघुवित्त संस्थाले नयाँ लाइसेन्स पाएको भने होइन । साविकको सुपर लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले टेकओभर गरेर पश्चात अब सञ्जीवनि बनेको हो । ‘हामीले अप्रुभल पाइसकेका छौँ, अब सञ्जीवनिको नामबाट सेवा शुभारम्भ हुनेछ’ लगानीकर्ता बैंकका एक अधिकारीले केटिएम भ्वाइससँग भने ।
सञ्जीवनीमा प्रभु बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंकसहित आरएसडिसी र फस्र्ट माइक्रोफाइनान्सको लगानी रहनेछ । उल्लेखित बैंकहरुले सुपर लघुवित्तलाई ऋण दिएका थिए ।
सुपर लघुवित्त डुबेपछि उक्त ऋणलाई पुँजीमा कन्भर्ट गरिएपछि राष्ट्र बैंकले नयाँ नामबाट काम सुरु गर्न अनुमति दिएको हो । सुपर लघुवित्त डुब्न लागेको विषयमा सबैभन्दा पहिला अनलाइनखबरमा रोयल आचार्यले समाचार ब्रेक गरेका थिए । पछि केटिएम भ्वाइसले यसको निरन्तर फलोअप गरेको थियो । समाचार बाहिर आएपछि राष्ट्र बैंकले टेकओभर गर्नु पर्ने अवस्थासम्म पुगेको थियो ।

सुपर लघुवित्तको समाचार लेखे वापत पत्रकार आचार्यले ५० हजार राशीको ‘सिविफिन–नाफिज’ आर्थिक पत्रकारिता पुरस्कार समेत पाएका थिए । उक्त पुरस्कार २०८० कात्ति १८ गते होटल एभरेष्टमा आयोजित भव्य समारोहकाबीच तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले हस्तान्तरण गरेका थिए ।
















