Dhulikhel Eco Banner new

बुटवलमा हायात प्लेसको शुभारम्भ, पश्चिम नेपालको हस्पिटालिटी क्षेत्रमा नयाँ युगको थालनी

3.52K
shares

काठमाडौं, ३० पुस । बुटवलमा अन्तर्राष्ट्रिय होटल ब्रान्ड हायात प्लेस को औपचारिक शुभारम्भसँगै पश्चिम नेपालको हस्पिटालिटी क्षेत्रमा नयाँ युगको सुरुवात भएको छ। बुटवल सहरकै पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटलका रूपमा हायात प्लेस बुटवलले सेवा प्रारम्भ गरेको हो।

तीव्र रूपमा आर्थिक तथा औद्योगिक केन्द्रको रूपमा विकास हुँदै गरेको बुटवलमा विश्वस्तरीय सेवा र अन्तर्राष्ट्रिय मापदण्ड भित्र्याउँदै यो होटलले रणनीतिक कोसेढुङ्गा स्थापना गरेको छ। यसले बुटवलको बढ्दो व्यापारिक, पर्यटकीय र लगानी सम्भावनालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

होटलले हालै आयोजना गरेको भव्य उद्घाटन समारोह ‘न्यु इयर्स इभ अन्डर द स्टार्स’ ले सहरको सामाजिक तथा जीवनशैली क्षेत्रमा विशेष प्रभाव छोडेको छ। कार्यक्रममा प्रतिष्ठित व्यवसायी, सामाजिक व्यक्तित्व तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। यसले हायात प्लेस बुटवलले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम र अनुभव प्रदान गर्न सक्ने क्षमतालाई पुष्टि गरेको छ।

हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगर का अनुसार, नयाँ वर्षको कार्यक्रमप्रति देखिएको उत्साहजनक सहभागिताले बुटवल प्रिमियम जीवनशैलीका लागि तयार भइसकेको संकेत दिएको छ।

उनले भने, “भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु र यहाँको तीव्र औद्योगिक विस्तारसँगै अन्तर्राष्ट्रिय स्तरको आवासको माग तीव्र रूपमा बढेको छ। हायात प्लेस बुटवलले व्यापारिक यात्रु, पर्यटक तथा विस्तारित व्यापारिक इकोसिस्टमलाई लक्षित गरी सेवा प्रदान गर्नेछ।”

महेंद्र राजमार्ग ९एसियन हाइवे० र सिद्धार्थ राजमार्गको संगममा अवस्थित बुटवल हाल एक ट्रान्जिट सहरबाट रूपान्तरण हुँदै व्यापारिक तथा औद्योगिक पावरहाउसको रूपमा स्थापित हुँदैछ। अन्तर्राष्ट्रिय हवाई सम्पर्क, विस्तारित औद्योगिक क्षेत्र र रणनीतिक राजमार्ग पहुँचका कारण बुटवल पश्चिम नेपालको प्रमुख व्यापार, पर्यटन र पारवहन केन्द्र बन्दै गएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सीमापार व्यापार, लगानी र पर्यटन गतिविधिमा वृद्धि भएको छ। लुम्बिनी प्रदेशभर उद्योग तथा कलकारखाना विस्तार भइरहँदा बुटवल कर्पोरेट गतिविधि र व्यापारिक यात्राको मुख्य केन्द्रका रूपमा उदाउँदै गएको छ।

यस परिवर्तित परिदृश्यलाई मध्यनजर गर्दै हायात प्लेस बुटवलले कर्पोरेट बसाइ, उच्चस्तरीय बैठक, सम्मेलन तथा नेटवर्किङका लागि सहरकै पहिलो अन्तर्राष्ट्रिय स्तरको गन्तव्य प्रदान गरेको छ।

व्यापारिक तथा मनोरञ्जनका लागि यात्रा गर्ने दुवै प्रकारका यात्रुहरूका लागि हायात प्लेस बुटवल पश्चिम नेपालको प्रमुख प्रवेशद्वारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। भगवान बुद्धको जन्मस्थल लुम्बिनीसँग नजिकै अवस्थित यस होटलले तीर्थयात्री तथा सांस्कृतिक पर्यटकलाई आध्यात्मिक यात्रापछि विश्राम र आरामका लागि उत्कृष्ट वातावरण उपलब्ध गराउनेछ।

सहरको पहिलो पाँचतारे होटलका रूपमा हायात प्लेस बुटवलले विश्वस्तरीय सुविधा, स्वच्छता र सेवाको नयाँ मापदण्ड स्थापित गरेको छ। अत्याधुनिक आउटडोर स्विमिङ पुल, आधुनिक फिटनेस सेन्टर र विशेष डाइनिङ अनुभवसहित यो होटल केवल आवासीय स्थल मात्र नभई एक लाइफस्टाइल गन्तव्य का रूपमा विकसित भएको छ, जसले आन्तरिक पर्यटक र स्थानीय बासिन्दालाई प्रिमियम ‘स्टेकेसन’ को अनुभव प्रदान गर्नेछ।