Dhulikhel Eco Banner new

पत्रकारले देश चलाउन सक्दैनन् भन्ने भाष्य गलत साबित भयोः सञ्चारमन्त्री खरेल

6.59K
shares

काठमाडौं, ३ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकारले राज्य सञ्चालन गर्न सक्दैनन् भन्ने परम्परागत धारणा अब गलत साबित भइसकेको बताएका छन्।

शनिबार नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खरेलले पत्रकारहरूसँग देशका सबैजसो विषयको गहिरो ज्ञान हुने भएकाले आवश्यक परे पत्रकारले मन्त्रालयदेखि देशसम्म कुशलतापूर्वक चलाउन सक्ने दाबी गरे ।

आफ्नो २५ वर्षे पत्रकारिता जीवनबाट अप्रत्याशित रूपमा मन्त्रीको जिम्मेवारीमा आएको स्मरण गर्दै उनले भने, “पत्रकारलाई समाचार लेख्न र बोल्न मात्र आउँदैन। उसले शिक्षा, स्वास्थ्य, अर्थ, परराष्ट्र, कृषि लगायत सबै क्षेत्र बुझेको हुन्छ। पत्रकारले नबुझेको विषय के छ र त्यसैले आवश्यक परे पत्रकारले देश चलाउन सक्छ ।

मन्त्री खरेलले सरकारमा रहेको चार महिनाको अवधिमा पत्रकारिता पेशा र पत्रकारको शिर निहुरिने कुनै पनि काम नगरेको दाबी गरे। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारले फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन प्रतिबद्ध रहेको उनले बताए ।

यो सरकार ‘जेन्जी आन्दोलन र सहिदहरूको रगतको जगमा बनेको नागरिक सरकार’ भएको उल्लेख गर्दै उनले निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको हस्तक्षेप नहुने बताए ।

“हामी निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्न र निर्वाचन निष्पक्ष बनाउन दृढ छौँ,” मन्त्री खरेलले भने, “विगतका अप्ठ्याराहरू पन्छाउँदै सरकार र प्रधानमन्त्रीले दृढतापूर्वक काम गरिरहनुभएको छ ।”

सुशासनका सवालमा सरकार निर्मम भएर प्रस्तुत भएको उल्लेख गर्दै मन्त्री खरेलले पछिल्लो चार महिनामा ४० भन्दा बढी ठूला भ्रष्टाचारसम्बन्धी फाइल अघि बढाइएको जानकारी दिए। यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिइएको उनले बताए ।

बानेश्वरको सडकमा बगेको रगत र जेन्जी आन्दोलनको मर्म नबिर्सन आग्रह गर्दै मन्त्री खरेलले आगामी संसद् र सरकारमा मिडिया क्षेत्रको बलियो उपस्थिति आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, उनले पत्रकारहरूलाई विवेकशील भई सही नेतृत्व चयन गर्न तथा जनतालाई सुसूचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान गरे ।