Dhulikhel Eco Banner new

होटल फरेष्ट इनको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

3.76K
shares

काठमाडौं, ४ माघ । होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। सोमध्ये पहिलो चरणमा ४ लाख कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी निष्कासन गरिएको हो।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यसअनुसार न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम २ करोड रुपैयाँसम्म आवेदन गर्न सकिनेछ। निष्कासन छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते बन्द हुने कम्पनीले जनाएको छ।

आईपीओ निष्कासन प्रयोजनका लागि गराइएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यस रेटिङले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ।

पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जनाएको छ। होटल फरेष्ट इन लिमिटेडको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले पाएको छ।