Dhulikhel Eco Banner new

आशा लघुवित्तको नाफामा उछाल, हेर्नुस् अन्य वित्तीय सूचक कस्तो ?

2.91K
shares

काठमाडौं, २२ माघ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिकसम्म १२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधीको तुलनामा ४३१.५५ प्रतिशत बढि हो । कम्पनीले गत आवको पुस मसान्तसम्म २ करोड ३६ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

गत आवको पुस मसान्तसम्म कम्पनीले ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा त्यसको तुलनामा झण्डै १४ प्रतिशतको वृद्धि सहित ३८ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि ४० करोड ८५ लाख रुपैयाँबाट १६ प्रतिशतभन्दा बढीले वृद्धि भई करीब ४७ करोड ४४ लाख रुपैयाँ पुगेको छ। यसरी आम्दानीमा वृद्धि आएपछि कम्पनीको सञ्चालन नाफा पनि ३ करोड ३६ लाख रुपैयाँबाट ह्वात्तै बढेर १७ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६.४५ रुपैयाँबाट बढेर ३१.२९ रुपैयाँ कायम भएको छ। निष्क्रिय कर्जा पनि ४.९२ प्रतिशतबाट वृद्धि भई १०.१५ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५८.०८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३७.२३ गुणा रहेको छ।

चुक्ता पूँजी ८० करोड २६ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १२ करोड १७ लाख रुपैयाँ र रिजर्भ कोषमा ३४ करोड ४४ लाख रुपैयाँ रहेको छ। कम्पनीको कुल सम्पत्ति ११ अर्ब ७४ करोड २७ लाख रुपैयाँभन्दा माथि रहेको छ। कम्पनीले झण्डै १० अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।