Dhulikhel Eco Banner new

डिप्रोक्स लघुवित्तको नाफामा ८०.३० प्रतिशत वृद्धि

2.86K
shares

काठमाडौं, २२ माघ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ६ महीनाको अवधिमा ४४ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । उक्त नाफा गत आर्थिक वर्षको तुलनामा ८०.३० प्रतिशत बढि हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म अर्थात ६ महीनाको अवधिमा २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आवको पुस मसान्तसम्म कम्पनीले ९९ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म ६.६७ प्रतिशतले बढेर १ अर्ब ६ करोड १० लाख रुपैयाँ नाघेको छ। समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि १ अर्ब ८ करोड ७९ लाख रुपैयाँबाट झण्डै ६ प्रतिशतले बढेर १ अर्ब १५ करोड २४ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको सञ्चालन नाफा पनि समीक्षा अवधिमा ३६ करोड ७२ लाख रुपैयाँबाट साढे ७१ प्रतिशतले वृद्धि भएर ६२ करोड ९९ लाख रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २८.८० रुपैयाँबाट बढेर ४७.४१ रुपैयाँ पुगेको छ भने खराब कर्जा पनि बढ्न गई ६.०९ प्रतिशतबाट ८.४३ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २२१.१३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.४२ गुणा रहेको छ।

चुक्ता पूँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडामा ८५ करोड ३८ लाख रुपैयाँ र रिजर्भमा झण्डै १ अर्ब ४१ करोड रुपैयाँ सञ्चिति छ। कम्पनीले २५ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरी ११ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। पुस मसान्तसम्म कम्पनीको सम्पत्तिको कुल मूल्य २७ अर्ब ६ करोड ३७ लाख रुपैयाँभन्दा बढी रहेको छ।