Dhulikhel Eco Banner new

ग्लोबल आइएमई लघुवित्तले कमायो १० करोड ५९ लाख खुद नाफा

2.95K
shares

काठमाडौं, २५ माघ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिकसम्म १० करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोहि अवधीको तुलनामा १०.५१ कम हो । गत आवको पुस मसान्तसम्म कमाएको ११ करोड ८३ लाख रुपैयाँ कमाएको थियो ।

पुस मसान्तसम्म आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानी ४८ करोड ७६ लाख रुपैयाँ पुगेको छ जुन गत आवको ३५ करोड ७ लाख रुपैयाँको तुलनामा ३९ प्रतिशतले बढी हो।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि ५२ करोड १८ लाख रुपैयाँ पुगेको छ जुन गत आवको ३९ करोड २१ लाख रुपैयाँको तुलनामा ३३ प्रतिशतले वृद्धि भएको हो। आम्दानीमा वृद्धि भए तापनि ऋण नउठ्ने जोखिमको आधारमा सम्भावित घाटा अनुमान गरेर छुट्याइने रकम (इम्पेयरमेन्ट चार्ज) बढेको कारण नाफामा दबाब परेको देखिएको छ।

गत आवको पुस मसान्तसम्म कम्पनीले इम्पेयरमेन्ट चार्ज बापत २ करोड ७६ लाख रुपैयाँ छुट्याएकोमा चालू आवको पुस मसान्तसम्म त्यस्तो रकम ४८३ प्रतिशतले भारी वृद्धि गरी १६ करोड ११ लाख रुपैयाँ छुट्याएको छ। यसकारण कम्पनीको सञ्चालन नाफा पनि १६ करोड ९० लाख रुपैयाँबाट १० प्रतिशतले घटेर १५ करोड २२ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३८.२४ रुपैयाँबाट घटेर ३२.६७ रुपैयाँमा कायम भएको छ। यता निष्क्रिय कर्जा भने ४.१० प्रतिशतबाट बढेर ८.९६ प्रतिशत कायम हुन पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १९४.६८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५.५९ गुणा र तरलता अनुपात ४.९२ प्रतिशत रहेको छ। यस अवधिसम्म वितरणयोग्य मुनाफा ६ करोड ३५ लाख रुपैयाँ रहको छ।

चुक्ता पूँजी ६४ करोड ८२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६३ करोड ७ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले ३ अर्ब ८५ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब २९ करोड ९८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। पुस मसान्तसम्म आइपुग्दा कम्पनीको कुल सम्पत्तिको मूल्य १० अर्ब ८६ करोड ८३ लाख रुपैयाँभन्दा माथि पुगेको छ।