Dhulikhel Eco Banner new

कोशी प्रदेश लोक सेवा आयोगद्वारा चौथो तहका पदमा ठूलो संख्यामा विज्ञापन

2.54K
shares

काठमाडौं, २६ माघ । प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगरले स्थानीय सरकारी सेवाअन्तर्गत प्राविधिक तथा अप्राविधिकतर्फ सहायक स्तर चौथो तहका पदहरूमा ठूलो संख्यामा जनशक्ति माग गर्दै विज्ञापन खुलाएको छ।

आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने गरी प्राविधिकतर्फ असिस्टेन्ट सब–इन्जिनियर, खानेपानी तथा सरसफाइ टेक्निसियन, अमिन, नायव प्राविधिक सहायक, नायव पशु स्वास्थ्य प्राविधिक, नायव पशु सेवा प्राविधिक, अहेब, अनमी, वैद्य तथा ल्याब असिस्टेन्ट पदहरूमा विज्ञापन आह्वान गरेको हो।

त्यस्तै, अप्राविधिकतर्फ खरीदार, सह–लेखापाल र सहायक महिला विकास निरीक्षक पदहरूमा पनि आवेदन खुलाइएको आयोगले जनाएको छ।

तोकिएको शैक्षिक योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकहरूले आयोगको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद आउँदो फागुन १७ गतेसम्म तोकिएको छ भने दोब्बर दस्तूर तिरेर फागुन २४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

विस्तृत विवरण, पद संख्या, योग्यता र परीक्षा सम्बन्धी जानकारी आयोगको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने आयोगले जनाएको छ।