बीमा ऐन उल्लंघन गर्ने ८ कम्पनीमाथि कारबाही, प्रति कम्पनी २ लाख जरिवाना
वि.सं.२०८२ चैत ९ सोमवार ११:०८
shares

काठमाडौं, ९ चैत । नेपाल बीमा प्राधिकरण ले बीमा ऐनअनुसार काम नगर्ने ८ बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणले प्रत्येक कम्पनीलाई २ लाख रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो।
प्राधिकरणका अनुसार निर्देशन पालना नगरेको भन्दै सम्बन्धित कम्पनीहरूसँग स्पष्टीकरण माग गरिएको थियो। तर, प्राप्त जवाफ सन्तोषजनक नभएपछि कारबाही गर्ने निर्णय गरिएको हो। उक्त निर्णय प्राधिकरणको सञ्चालक समितिको बैठकबाट समेत पारित भइसकेको छ।
कारबाहीमा पर्ने कम्पनीहरूमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन पुनर्बीमा कम्पनी, नेको इन्स्योरेन्स, एलायन्स इन्स्योरेन्स ब्रोकर, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्स रहेका छन्।
प्राधिकरणले ती कम्पनीहरूले नियमविपरीत काम गरेको ठहर गर्दै नगद जरिवाना गरिएको जनाएको छ। साथै, आगामी दिनमा यस्ता गतिविधि दोहोरिए थप कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।















