सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
वि.सं.२०८२ चैत १० मंगलवार १२:५९
shares

काठमाडौं, १० चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘स्मार्ट मनी टक्स २०२६’ भन्ने मूल नाराका साथ सञ्चालन भएको ग्लोबल मनि विकको अवसरमा देशका सातै प्रदेशमा व्यापक वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
चैत २ देखि ८ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत बैंकले आफ्ना १०८ शाखा कार्यालयमार्फत विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो। बैंकका अनुसार यस अभियानबाट करिब ६ हजार सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
कार्यक्रम अन्तर्गत कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धी गतिविधि सञ्चालन गरिएको थियो। कार्यक्रममा विशेषगरी युवा तथा विद्यार्थीलाई लक्षित गर्दै वित्तीय साक्षरताको आवश्यकता, महत्व तथा डिजिटल बैंकिङसँगै बढ्दै गएको साइबर जोखिमबारे जानकारी प्रदान गरिएको थियो।
यसका साथै बैंकले नगद कारोबार, विप्रेषण तथा अन्य आर्थिक लेनदेन गर्दा सुरक्षित बैंकिङ प्रणालीको प्रयोग गर्न आग्रह गरेको छ। यस्ता कार्यक्रमले बैंकिङ प्रणालीलाई थप मजबुत बनाउनुका साथै युवापुस्तामा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले व्यक्त गरेको छ।
सिटिजन्स बैंकले नवप्रवर्तनात्मक सेवामा समेत जोड दिँदै आएको छ। बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याइसकेको छ। साथै, नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ समेत सञ्चालनमा ल्याएको छ।
मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा उपलब्ध गराउने सुविधा सुरु गरेको बैंकले क्रस बैंक टेलर सुविधा समेत ल्याएको छ, जसबाट अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकका शाखाबाट क्यूआर स्क्यान गरी नगद झिक्न सक्ने व्यवस्था गरिएको छ।
हाल बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।



















