Dhulikhel Eco Banner new

बेनी हाईड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४ हजार कित्ता सेयर वितरण

3.93K
shares

काठमाडौं । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले सूचना जारी गर्दै २०८२ साल चैत १५ गते सेयर बाँडफाँड गरिएको जनाएको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको १० प्रतिशत अर्थात १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सोमध्ये १ लाख ४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको थियो।

उक्त सेयरका लागि २०८२ साल चैत १ गतेदेखि चैत ५ गतेसम्म आवेदन खुला गरिएको थियो। सो अवधिमा रितपूर्वक आवेदन दिने आवेदकहरूमध्ये कुल १० हजार ४ सय जनालाई १ लाख ४ हजार कित्ता सेयर प्रचलित नियमअनुसार बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सेयर बाँडफाँडको विस्तृत नतिजा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको वेबसाइट तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिनेछ।

यस निष्काशन प्रक्रियामा सहयोग पुर्‍याउने सम्पूर्ण लगानीकर्ता, सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र सम्बन्धित नियामक निकायहरूप्रति कम्पनीले धन्यवाद ज्ञापन गरेको छ।

बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले जलविद्युत् क्षेत्रमा लगानी विस्तार गर्दै ऊर्जा उत्पादनमार्फत देशको आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।