बैंकिङ कसुर मुद्दाका २ अभियुक्त पक्राउ
वि.सं.२०७९ असार १८ शनिवार १०:०१
shares

काठमाडौं, १८ असार । प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी घर भई ललितपुर बस्दै आएका २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौंको मनमैजु बस्दै आएका ३१ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उच्च अदालत पाटनको फैसलाअनुसार जरीवाना र कैद सजाय तोकिएका ती अभियुक्तहरु शुक्रवार बालुवाटारबाट पक्राउ गरेको बताएको छ ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनबाट बंैकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कैद तथा जरीवाना ठहर भएका शर्मा र गुरुङलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका शर्मालाई अदालतले ११ दिन कैद सजाय तथा ५५ लाख रुपैयाँ जरीवाना तथा गुरुङलाई ९ लाख ९० हजार रुपैयाँ जरीवाना तथा दुई दिन कैद सजाया हुने फैसला गरेको थियो । पक्राउ परेका दुवैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ ।















