Dhulikhel Eco Banner new

चालु खाता ५ खर्ब ५२ अर्ब बचतमा, शोधनान्तर ६ खर्ब ५८ अर्ब नाघ्यो

3.21K
shares

काठमाडौं, १९ चैत । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको चालु खाता उल्लेखनीय रूपमा बचतमा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार फागुनसम्म चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा पुगेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९७ अर्ब ३ करोड रुपैयाँले मात्र बचतमा रहेको थियो। अमेरिकी डलरमा हेर्दा पनि चालु खातामा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ४६ करोड डलर बचतमा रहेको चालु खाता समीक्षा अवधिमा बढेर ३ अर्ब ८८ करोड डलर पुगेको छ।

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब ४१ करोड रुपैयाँ थियो। त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० पनि वृद्धि भई १० अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो लगानी ८ अर्ब ४७ करोड रुपैयाँ थियो।

शोधनान्तर स्थिति पनि सुदृढ देखिएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा भने अघिल्लो वर्ष २ अर्ब २९ करोड बचतमा रहेको शोधनान्तर स्थिति बढेर ४ अर्ब ६१ करोड पुगेको छ।

समग्रमा, वैदेशिक मुद्रा आम्दानी, पुँजीगत ट्रान्सफर र लगानीमा भएको सुधारका कारण नेपालको बाह्य क्षेत्र सुदृढ बन्दै गएको संकेत देखिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।