हिलोरा हिल्स रिसोर्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल
वि.सं.२०८२ चैत २० शुक्रवार ११:३८
shares

काठमाडौं, २० चैत । हिलोरा हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जनाएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता शेयर निष्काशन गर्ने योजना बनाएको छ, जसअनुसार कुल ४० करोड रुपैयाँ बराबरको आईपीओ जारी गरिनेछ।
यससम्बन्धी सम्झौतापत्रमा हिलोरा हिल्स रिसोर्ट लिमिटेडका तर्फबाट सञ्चालक ई। श्री दिप विक्रम विष्ट र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठबीच हस्ताक्षर भएको छ। उक्त सम्झौता नयाँ बानेश्वरस्थित लक्ष्मी सन्राइज क्यापिटलको कार्यालयमा २०८२ चैत १९ गते सम्पन्न भएको हो। सम्झौताअनुसार निकट भविष्यमा आईपीओ निष्काशन प्रक्रिया अघि बढाइने जनाइएको छ।
भक्तपुरमा अवस्थित हिलोरा हिल्स रिसोर्ट प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानमा निर्माण गरिएको छ। यहाँबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। पहाडहरूको बीचमा रहेको रिसोर्टमा १०० भन्दा बढी सुविधासम्पन्न कोठाहरू रहेका छन्, जहाँबाट फरक–फरक समयमा फरक प्राकृतिक दृश्य देख्न सकिने व्यवस्था गरिएको छ।
रिसोर्टमा स्काई भ्यू रेस्टुरेन्ट, इनडोर स्विमिङ पूल तथा पिकनिक स्पट जस्ता सुविधा उपलब्ध छन्। साथै, १५०० देखि २००० जनासम्मका लागि भोज, सम्मेलन तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न मिल्ने क्षमता रहेकोले यो स्थल कार्यक्रम आयोजना गर्न उपयुक्त मानिएको छ।

















