Dhulikhel Eco Banner new

संसद् बैठक आज: सभामुख अनुमोदनदेखि वार्षिक प्रतिवेदन पेशसम्मका विषय प्राथमिकतामा

सभामुख पदमा डोलप्रसाद अर्याल

4.2K
shares

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक आज सिंहदरबारस्थित निर्माणाधीन भवनमा बस्ने भएको छ। बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा सभामुख पदसम्बन्धी प्रस्ताव मुख्य एजेण्डाका रूपमा अघि बढाइनेछ।

सभामुख पदमा डोलप्रसाद अर्याल लाई चयन गरिएको प्रस्तावलाई आज औपचारिक रूपमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति रहेका अर्याल यसअघि निर्विरोध चयन भइसकेका छन्। उनको प्रस्तावना रवि लामिछाने ले गरेका थिए भने समर्थनमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।

त्यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ। उक्त बैठकमा विषयगत समितिका सदस्यहरूको मनोनयन तथा आवश्यक हेरफेर गरिनेछ। साथै, बैठक सञ्चालनका लागि अध्यक्ष र उपाध्यक्ष अनुपस्थित हुँदा जिम्मेवारी सम्हाल्ने सदस्यहरूको नाम पनि तोकिनेछ।

आजकै कार्यसूचीअन्तर्गत प्रधानमन्त्री वालेन्द्र शाह ले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन संसद्मा पेश गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। संसद्मा आज हुने निर्णय र प्रस्तुतीहरूले आगामी राजनीतिक दिशा र नीतिगत प्राथमिकता निर्धारणमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।