Dhulikhel Eco Banner new

सिंहदरबारमा इन्टरनेट सेवा सुधार्न आईडीएमसीलाई सञ्चारमन्त्रीको निर्देशन

4.28K
shares

काठमाडौं, ३० चैत । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र त्यस वरपरका सरकारी निकायमा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न सरकारले सक्रियता बढाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी कामकाजमा प्रविधि पूर्वाधार कमजोर हुन नदिन इन्टरनेट सेवालाई थप भरपर्दो, द्रुत र अवरोधरहित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का प्रमुखसँगको छलफलमा मन्त्री तिमिल्सिनाले सबै सरकारी कार्यालयमा उच्चस्तरीय इन्टरनेट पहुँच सुनिश्चित गर्न जोड दिएका हुन्। कुनै पनि अवस्थामा सेवा अवरुद्ध हुन नदिन पूर्वतयारी, निगरानी तथा जोखिम व्यवस्थापनलाई थप मजबुत बनाउन उनले निर्देशन दिएका छन्।

सम्भावित समस्या समयमै पहिचान गरी तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै मन्त्री तिमिल्सिनाले जिम्मेवारी र जबाफदेहिता बढाउनुपर्ने बताएका छन्। साथै, प्राविधिक तथा मानवीय कमजोरीका कारण इन्टरनेट अवरुद्ध हुने समस्या अन्त्य गर्न नेपाल टेलिकम मार्फत दक्ष प्राविधिक टोली परिचालन गरी छिटो समाधान गर्ने व्यवस्था मिलाउन उनले निर्देशन दिएका छन्।

छलफलका क्रममा आईडीएमसीका प्रमुख मनिष भट्टराई ले हाल सिंहदरबारभित्र नेपाल टेलिकममार्फत १ जिबिपिएस क्षमताको ब्रोडब्यान्ड सेवा र ‘जी–क्लाउड’ का लागि थप २५० एमबिपिएस इन्टरनेट सञ्चालनमा रहेको जानकारी दिएका छन्। तर, सडक तथा भौतिक पूर्वाधार निर्माणका क्रममा अप्टिकल फाइबरमा क्षति पुग्दा केही कार्यालयमा इन्टरनेट सुस्त हुने र कहिलेकाहीँ सेवा नै अवरुद्ध हुने समस्या रहेको उनले बताएका छन्।

दीर्घकालीन समाधानका लागि अप्टिकल फाइबरलाई सुरक्षित रूपमा भूमिगत गरिनुपर्ने आवश्यकता औंल्याउँदै भट्टराईले पहिले वैकल्पिक प्रणालीमार्फत सेवा निरन्तरता कायम राख्ने ‘इन्टरनेट रिङ’ व्यवस्था कमजोर बनेकाले त्यसलाई पुनः सुदृढ गर्ने प्रयास भइरहेको जानकारी दिए।

बाह्य इन्टरनेट व्यवस्थापन केन्द्रले सेवा सम्हाल्ने भए पनि प्रत्येक कार्यालयभित्रको नेटवर्क तथा सर्भर व्यवस्थापन सम्बन्धित निकायकै जिम्मा हुने भएकाले हरेक मन्त्रालय तथा निकायमा दक्ष सूचना प्रविधि (आइटी) जनशक्ति आवश्यक रहेको उनले बताए।