पुँजी बजारमा पारदर्शिताको अभाव, सुधार आवश्यक छः अर्थमन्त्री वाग्ले
वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:४२
shares

काठमाडौं, २९ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले बजार हेरफेर र इन्साइडर ट्रेडिङमार्फत सर्वसाधारणको करिब १५ देखि १६ अर्ब रुपैयाँ दुरुपयोग गरेको गम्भीर आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले केही प्रभावशाली समूहले वित्तीय प्रणालीमाथि नियन्त्रण जमाउने गरी काम गरेको दाबी गरे। उनका अनुसार यस्ता गतिविधिले आर्थिक क्षेत्र मात्र होइन, राजनीतिक संस्थाहरूमा समेत नकारात्मक प्रभाव पारेका छन्।
“विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू केही व्यक्तिको नियन्त्रणमा पुगेको यथार्थ स्वीकार गर्नुपर्छ,” मन्त्री वाग्लेले भने, “जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेर बजार हेरफेर र इन्साइडर ट्रेडिङमार्फत अकुत सम्पत्ति आर्जन गरिएको अवस्था थियो।”
उनले त्यस्ता समूहले राजनीतिक नेतृत्वलाई समेत प्रभाव पार्ने प्रयास गरेको उल्लेख गर्दै आर्थिक तथा राजनीतिक संस्थाहरू कमजोर बनाइएको टिप्पणी गरे।
अर्थमन्त्री वाग्लेले हालको राजनीतिक परिवर्तनलाई ‘जेन–जी आन्दोलन’को परिणामका रूपमा व्याख्या गर्दै त्यसले देशलाई गलत दिशातर्फ जानबाट जोगाएको दाबी पनि गरे।
सरकार सुशासनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, “पहिलो वर्ष सुशासनमा केन्द्रित हुने र त्यसपछि विकास निर्माणलाई गति दिने रणनीति सरकारको हो।”
उनका अनुसार सरकारले पुँजी बजारलाई पारदर्शी, व्यावसायिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने लक्ष्य राखेको छ। साथै स्टक एक्सचेन्ज पुनःसंरचनासम्बन्धी प्रतिवेदन कार्यान्वयनको तयारी भइरहेको र आगामी बजेटमार्फत पुँजी बजार सुधारका थप कार्यक्रम ल्याइने संकेतसमेत उनले दिएका छन्।















