Dhulikhel Eco Banner new

अस्पतालको रकम हिनामिना प्रकरणमा अस्पताल र बैंकका ५ कर्मचारी पक्राउ

1.77K
shares

काठमाडौं, ३० वैशाख। शिवराज नगरपालिकाअन्तर्गत सञ्चालित आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको रकम हिनामिना प्रकरणमा अस्पताल तथा बैंकसँग सम्बन्धित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालको आम्दानी रकम बैंकमा जम्मा नगरी हिनामिना गरिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जनाएको हो।

प्रहरीका अनुसार अस्पतालको सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्रीबापत संकलित रकम नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा जम्मा गर्नुपर्नेमा विभिन्न मितिका १२९ थान भौचरमार्फत देखाइएको करिब ३८ लाख ११ हजार ७ सय ७० रुपैयाँ बैंकमा जम्मा नभएको भेटिएको थियो। अनुसन्धानका क्रममा बैंक भौचर तयार गरिए पनि सम्बन्धित रकम बैंक खातामा जम्मा नभएको खुलेको प्रहरीले जनाएको छ।

घटनापछि शिवराज नगरपालिका–५ का वडा अध्यक्ष तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद बेल्बासेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा सरकारी अस्पतालको नक्कली भौचर बनाई संगठित रूपमा रकम हिनामिना गरिएको निष्कर्षसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय चूडामणि भट्टराई, मेडिकल सुपरिटेन्डेन्ट ३० वर्षीय अमित पाण्डेय, नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा कार्यरत क्यासियर २४ वर्षीय कमलप्रसाद भण्डारी, अस्पतालकी फार्मेसी सहायक २७ वर्षीया रुक्साना खातुन तथा बैंक कर्मचारी ३५ वर्षीय विक्रम केसी रहेका छन्।

उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।