म्याद गुज्रिएका खाद्य सामग्री प्रयोग गरेको आरोपमा होटल ए वानलाई २ लाख जरिबाना
वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:१४
shares

काठमाडौं, २९ वैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको कोटेश्वरस्थित होटल ए वान क्याफे एन्ड भेन्युलाई उपभोक्ता संरक्षण ऐन विपरीत कार्य गरेको आरोपमा २ लाख ५ हजार रुपैयाँ जरिबाना गरेको छ।
विभागले सोमबार गरेको बजार अनुगमनका क्रममा होटलको भान्सामा म्याद गुज्रिएका खाद्य सामग्री प्रयोग भइरहेको भेटिएपछि कारबाही गरिएको जनाएको हो।
अनुगमनका क्रममा सिङसुङ डार्क सोया सस, किकुमेन सोया सस र किलोय नामक खाद्य सामग्री म्याद नाघेको अवस्थामा फेला परेको विभागले जनाएको छ। ती सामग्री ग्राहकलाई परोसिने परिकार बनाउन प्रयोग भइरहेको पाइएको थियो।
उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने गतिविधि गरेको भन्दै विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६९२०९क० बमोजिम होटललाई तत्काल २ लाख ५ हजार रुपैयाँ जरिबाना गरेको जनाएको छ।
विभागले सोमबार काठमाडौं महानगरपालिका–३२ अन्तर्गत कोटेश्वर क्षेत्रमा रहेका ४४ वटा उद्योग तथा व्यावसायिक फर्ममा अनुगमन गरेको थियो। होटल ए वान क्याफेबाहेक अन्य ४३ वटा फर्मलाई भने सामान्य निर्देशन दिएर छाडिएको विभागले जनाएको छ।
निर्देशन दिइएका फर्महरूमा फेन्सी स्टोर, मोबाइल पसल, चस्मा घर तथा आँखा क्लिनिक, बेकरी उद्योग र खाजा घर रहेका छन्।















