अर्थमन्त्रीको कडा अभिव्यक्तिपछि लगानीकर्ता सतर्क : तर प्राविधिक सपोर्ट अझै बलियो
रातो क्याण्डलले ‘प्रोफिट बुकिङ’
वि.सं.२०८३ वैशाख ३० बुधवार ०६:००
shares

लगातार तीन कारोबार दिनसम्म उत्साहजनक वृद्धि देखिएको नेपाली शेयर बजारमा मंगलबार आएको करेक्सनपछि आजको कारोबारलाई लगानीकर्ताले चासोका साथ हेरिरहेका छन् । छोटो अवधिमै तीव्र रूपमा बढेको बजारमा नाफा सुरक्षित गर्ने प्रवृत्ति बढेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दबाबमा परेको थियो । अब आज बजारले कस्तो प्रतिक्रिया दिन्छ भन्ने कुराले बजारको छोटो अवधिको दिशा तय गर्न सक्ने विश्लेषण गरिएको छ ।
मंगलबार नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा बन्द भएको थियो । लगातार बढेको बजारमा आएको यो गिरावटलाई धेरै विश्लेषकहरूले स्वाभाविक करेक्सनका रूपमा व्याख्या गरेका छन् । तर बजार अन्तिम समयमा कमजोर देखिनु र २८०० नजिक पुगेर टिक्न नसक्नुले लगानीकर्ताको मनोविज्ञान अझै पूर्ण रूपमा बलियो नभएको संकेत गरेको छ ।
विश्लेषकहरूका अनुसार आजको कारोबारमा २७८८–२८०० क्षेत्र अत्यन्त महत्वपूर्ण रहनेछ । यदि बजारले फेरि माथिल्लो दबाब पार्दै त्यो क्षेत्रमाथि टिक्न सफल भयो भने नेप्सेमा पुनः बुलिस गति फर्किन सक्ने सम्भावना बलियो बन्नेछ । तर लगातार बिक्री दबाब कायम रहेर अर्को रातो क्याण्डल बनेमा छोटो अवधिमा बजार थप करेक्सनतर्फ जान सक्ने जोखिम पनि रहेको बताइन्छ ।
प्राविधिक रूपमा हेर्दा बजार अझै पूर्ण रूपमा नकारात्मक संरचनामा प्रवेश गरिसकेको अवस्था भने देखिँदैन । दैनिक चार्टअनुसार २६७७ विन्दु अहिले बजारको प्रमुख सपोर्ट क्षेत्र बनेको छ । बजार यो स्तरभन्दा माथि रहँदासम्म सुधारको सम्भावना जीवित रहने विश्लेषण गरिएको छ । तर यदि कारोबारका क्रममा बजार त्यो स्तरभन्दा तल झर्यो भने लगानीकर्तामा थप डर र दबाब सिर्जना हुन सक्ने अवस्था देखिएको छ ।

मंगलबार बनेको लामो रातो क्याण्डललाई विश्लेषकहरूले “Profit Booking Candle” तथा “Bearish Rejection Candle” का रूपमा व्याख्या गरेका छन् । यसले माथिल्लो क्षेत्रमा बिक्री दबाब अझै बलियो रहेको संकेत गरे पनि कारोबार रकम उच्च रहनुलाई बजारमा सक्रियता कायम रहेको सकारात्मक संकेतका रूपमा हेरिएको छ । मंगलबार मात्रै ४ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।
उपसमूहतर्फ अधिकांश क्षेत्र दबाबमा रहे पनि बजार पूर्ण रूपमा कमजोर भइसकेको निष्कर्ष निकाल्न अझै हतार हुने विश्लेषकहरूको भनाइ छ । विशेषगरी नीतिगत रूपमा सरकारले पूँजी बजार सुधार, संस्थागत लगानी विस्तार र नेप्से पुनर्संरचनाको संकेत दिइरहेका कारण दीर्घकालीन रूपमा बजारप्रति आशा अझै जीवित रहेको बताइन्छ ।
यता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको इन्साइडर ट्रेडिङ र बजार चलखेलसम्बन्धी कडा अभिव्यक्तिपछि केही ठूला लगानीकर्ता सतर्क बनेको अनुमान गरिएको छ । त्यसको असर आजको कारोबारमा पनि देखिन सक्ने विश्लेषण गरिएको छ ।
समग्रमा हेर्दा आजको कारोबार नेप्सेका लागि निकै महत्वपूर्ण मानिएको छ । बजारले सपोर्ट जोगाउँदै पुनः माथिल्लो दिशा समात्छ कि करेक्सन अझै गहिरिन्छ भन्ने कुराले आगामी केही साताको बजार मनोविज्ञानमा समेत प्रभाव पार्न सक्ने देखिएको छ ।















