लगातार दोस्रो उपाधि: बैंगलुरूले रचेको इतिहास
वि.सं.२०८३ जेठ १८ सोमवार ०७:२१
shares

बेंगलुरु — १८ वर्षको लामो प्रतीक्षापछि उपाधि चुमेको रोयल च्यालेन्जर्स बैंगलुरूले अब लगातार दोस्रो पटक आईपीएल जित्दै आफ्नो इतिहास नै फेरिदिएको छ। आइतबार खेलिएको फाइनलमा गुजरातलाई ५ विकेटले हराउँदै बैंगलुरूले आईपीएल २०२६ को ट्रोफी आफ्नो नाममा गर्यो। कुनै बेला ‘जित्न नसक्ने’ टोलीको ट्याग बोकेको बैंगलुरूका लागि यो जित विशेष बनेको छ।
कप्तान रजत पाटीदार लगातार दुईवटा आईपीएल उपाधि जित्ने इतिहासकै तेस्रो कप्तान बनेका छन्। यसअघि महेन्द्र सिंह धोनी (२००९, २०१०) र रोहित शर्मा (२०१९, २०२०) ले मात्र यस्तो सफलता हासिल गरेका थिए।
बैंगलुरूको यस पटकको सफलताको मुख्य आधार कुनै एक खेलाडीमाथिको निर्भरता नहुनु रह्यो। ब्याटिङमा विराट कोहली, रजत पाटीदार र देवदत्त पडिक्कलले रनको वर्षा गरे भने बलिङमा भुवनेश्वर कुमार, रसिख सलाम र जोस हेजलवुडले कमान सम्हाले। यही सामूहिक प्रदर्शनको प्रमाण हो — सिजनभर टोलीका ८ फरक खेलाडी ‘प्लेयर अफ द म्याच’ बने।
ब्याटिङ नै यस सिजन बैंगलुरूको सबैभन्दा बलियो पक्ष साबित भयो। फाइनलमा ओपनर कोहलीले अविजित ७५ रनको इनिङ खेल्दै टोलीलाई च्याम्पियन बनाए। उनले १६ खेलमा १६५.८४ को स्ट्राइक रेटमा ६७५ रन जोडे, जसमा एक शतक र पाँच अर्धशतक समावेश छन्। कप्तान पाटीदारले पनि १५ खेलमा १९२.६९ को उच्च स्ट्राइक रेटमा ५०१ रन र पडिक्कलले ४६४ रन थपे।
यी तीन ब्याटरले मात्रै टोलीका लागि कुल १,६४० रन योगदान गरे। मध्यक्रममा वेन्कटेश अय्यरले ६ इनिङमा २०९ रन बनाउँदै दबाबका बेला सहयोग गरे — फाइनलमै उनले १६ बलमा ३२ रनको निर्णायक इनिङ खेलेका थिए। यही गहिराइका कारण बैंगलुरूलाई पूरै सिजन मध्यक्रममा खासै दबाब झेल्नुपरेन।















