Dhulikhel Eco Banner new

श्री जनता नमूना मावि गिद्वा(बेलापट्टिका प्रधानाध्यापक मण्डलद्वारा भ्रामक समाचारको खण्डन, विद्यालय विकासमा सामूहिक योगदान रहेको स्पष्ट

897
shares

काठमाडौं, २२ जेठ । धनुषाको विदेह नगरपालिका–६ तिनकौरिया चोकस्थित श्री जनता नमूना माध्यमिक विद्यालय गिद्वा बेलापट्टिका प्रधानाध्यापक पवनकुमार मण्डलले आफ्नो विषयमा सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा प्रकाशित समाचारहरू कपोलकल्पित, भ्रामक र तथ्यहीन रहेको स्पष्ट पारेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रधानाध्यापक मण्डलले विद्यालयलाई नमूना शैक्षिक संस्थाका रूपमा विकास गर्न नागरिक समाज, नगरप्रमुख, शिक्षक, अभिभावक तथा सम्पूर्ण सरोकारवाला पक्षको संयुक्त योगदान रहेको बताए । उनले व्यक्तिगत प्रयास मात्र नभई सामूहिक पहलकै कारण विद्यालयले उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गरे ।

उनका अनुसार विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै प्रतिस्पर्धी जनशक्ति उत्पादन गरिरहेको छ, जसले समाजमा रहेका कुरीति, अन्धविश्वास, अशिक्षा तथा गरिबी न्यूनीकरणमा सकारात्मक प्रभाव पारेको छ । “म विगत लामो समयदेखि पूर्ण रूपमा शिक्षण पेशामा समर्पित छु । बिहानदेखि विद्यालयका शैक्षिक गतिविधिमा निरन्तर सक्रिय छु,” उनले भने । साथै, नगरपालिकाबाट १४ जना नगर शिक्षक उपलब्ध भएको जानकारी दिँदै विदेह नगरपालिकाको नगरप्रमुख बेचन दाससँग आफ्नो पुरानो सहपाठीको सम्बन्ध रहेको पनि उनले स्पष्ट पारे ।

विद्यालयको शैक्षिक विकासमा पुर्‍याएको योगदानका कारण आफूलाई राष्ट्रपति बाट सम्मान प्राप्त भएको उल्लेख गर्दै उनले नमूना विद्यालय निर्माणका लागि निरन्तर मेहनत भइरहेको बताए । सामाजिक सञ्जालमा नगरप्रमुख प्रति गालीगलौज गरेको आरोप बारे उठेको प्रश्नमा उनले त्यसलाई पूर्ण रूपमा अस्वीकार गर्दै भने, “नगरप्रमुख बेचन दास मेरा सहपाठी हुन् । उहाँप्रति अभद्र व्यवहार गर्ने कुरा कल्पना पनि गर्न सकिँदैन ।”

यस विषयमा विदेह नगरपालिकाको नगरप्रमुख बेचन दासले समेत प्रधानाध्यापक मण्डलले आफूलाई कुनै किसिमको गालीगलौज नगरेको स्पष्ट पार्दै सामाजिक सञ्जालमा फैलाइएका केही सामग्री तथ्यसँग मेल नखाने बताएका छन् । अन्त्यमा प्रधानाध्यापक मण्डलले पत्रकारको भूमिकाबारे टिप्पणी गर्दै भने, “पत्रकारको धर्म न पक्ष, न विपक्ष—सर्वदा तटस्थ हुन्छ । म कहिल्यै पत्रकार विरोधी होइन । ”कार्यक्रममा विद्यालयका संस्थापक एवं जग्गादाता परिवारका प्रतिनिधि तथा कन्या माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक पशुपति मण्डलले विद्यालय विकासमा प्रधानाध्यापक पवन मण्डलको कुशल नेतृत्वको खुलेर प्रशंसा गरे । उनले यस विद्यालयलाई यस क्षेत्रकै निःशुल्क अंग्रेजी माध्यममा अध्यापन हुने एकमात्र सरकारी विद्यालयका रूपमा विकास गर्न प्रधानाध्यापक मण्डलको महत्वपूर्ण भूमिका रहेको बताए ।
मण्डलले थप जोड दिँदै भने, “स्मरण रहोस्, पूर्व शिक्षाविद् महावीर पुनले पनि विद्यालयका प्रिन्सिपल तथा यहाँको पठन–पाठन प्रणालीको प्रशंसा गर्नुभएको छ, जुन कुनै बनावटी वा फोकटको कुरा होइन, वास्तविक मूल्याङ्कन हो ।”