Dhulikhel Eco Banner new

बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

962
shares

काठमाडौं, २७ जेठ । गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्‍याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्र गतिमा अगाडि बढाइएको छ ।

बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो । हाल बाँधस्थलमा थुप्रिएको अवरोध हटाउने कार्य द्रुत रूपमा अघि बढिरहेको आयोजनाले जनाएको छ ।

आयोजनाका कार्यकारी प्रमुख सत्यराम ज्याख्वका अनुसार बालुवा थिग्र्याउने पोखरी डिसिल्टिङ बेसिनमा जम्मा भएका अवरोध हटाइसकिएको छ भने ‘हेडरेस’ सुरुङ तथा विद्युत् उत्पादनसँग सम्बन्धित उपकरणको सफाइसमेत सम्पन्न गरिएको छ ।

बाढीले कटान गरेको बाह्य संरचनाअन्तर्गत ड्याम तथा विद्युत् गृह जाने पहुँचमार्गमा रहेको पक्की पुलको संरक्षणका लागि दायाँ–बायाँ पर्खाल निर्माणकार्य जारी छ । आयोजनाले २०८१ पुस १६ गतेदेखि व्यावसायिक रूपले उत्पादन सुरु गरेको थियो ।

तर २०८२ असार २४ गतेको बाढीले बाहिरी सतहको ड्याम संरचनामा क्षति पुर्‍याएपछि आयोजना पूर्ण रूपमा बन्द हुन पुगेको बताइएको छ । त्यसपछि सुरुङ तथा उपकरणहरूको सफाइ गरी मङ्सिर २० गतेदेखि पुनः विद्युत् उत्पादन सुरु गरिएको थियो ।

करिब रु २३ अर्ब ७३ करोड लागतमा आयोजना निर्माण भएको थियो । आयोजनामा चार दशमलव आठ किलोमिटर लामो हेडरेस सुरुङमार्फत प्रतिसेकेन्ड ८० घनमिटर पानी विद्युत् गृहमा पुर्‍याइन्छ । त्यहाँ जडान गरिएका तीन वटा फ्रान्सिस टर्बाइनबाट अधिकतम एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको आयोजनाका केन्द्र प्रमुख सन्तोष अधिकारीले बताए ।