Dhulikhel Eco Banner new

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुल्यो : ७ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि

असार २ गतेसम्म आवेदन दिन सकिने

1.13K
shares

कैलालीको अत्तरियामा उत्पादन प्लान्ट रहेको सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज जेठ २८ गतेदेखि आफ्नो प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ।

कम्पनीले जारी पूँजी ३४ करोडको २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता आईपीओमा ल्याउने अनुमति धितोपत्र बोर्डबाट पाएकोमा वैदेशिक रोजगारी (८५ हजार), सामूहिक लगानी कोष (४२ हजार) र कर्मचारी (१७ हजार) कोटाका शेयर वितरण गरिसकिएपछि बाँकी ७ लाख ५ हजार ५०० कित्ता मात्र सर्वसाधारणका लागि उपलब्ध छ।

प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाइनेछ। आवेदन अवधि असार २ गतेसम्म छ, तर सो अवधिसम्म पूर्ण आवेदन नपरेमा असार ११ गतेसम्म थप हुने कम्पनीले जनाएको छ।

केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘CARE-NP BB–’ इस्यूअर रेटिङ दिएको छ जसले वित्तीय दायित्व बहनमा मध्यम स्तरको जोखिम रहेको देखाउँछ। कम्पनीको ऋण–खुद पूँजी अनुपात ०.२९ र ब्याज कभरेज अनुपात २.०१ गुणा पुगेको छ भने आर्थिक वर्ष २०८०/८१ मा कुल बिक्री करिब ९ करोड ५० लाख रुपैयाँमा सीमित रहेको छ।

तथापि बिक्रीपछि रकम उठाउन औसत ४५८ दिन र सञ्चालन चक्र ५६४ दिन पुगेकाले नगद प्रवाहमा दबाब रहेको छ। कच्चा पदार्थ आयातमा निर्भर हुनुपर्दा विनिमय दरको जोखिम पनि उत्तिकै छ। लगानीकर्ताले मेरो शेयर वा आस्बा सदस्य बैंकमार्फत आवेदन दिन सक्छन् र निष्काशन प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।