एकैपटक आठ बीमा कम्पनीका सीईओ निलम्बित
वि.सं.२०८३ जेठ ३१ आइतवार ०७:२८
shares

सरकारले वित्तीय क्षेत्रमा मुद्दा दायरको व्यापक अभियान चलाउँदै बीमा, मनी लाउन्डरिङ, धितोपत्र र बैंकिङ कसुरमा गरी एकैपटक एक सय ६४ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। यसको तत्काल परिणामस्वरूप दुई पुनर्बीमा कम्पनी, एक जीवन बीमा कम्पनी र पाँच लघु बीमा कम्पनी गरी आठ संस्थाका प्रमुख कार्यकारी अधिकृत निलम्बनमा परेका छन्।
दर्ता भएका मुद्दाहरूको विवरण हेर्दा बीमासम्बन्धी कसुरमा ४२ जना, सम्पत्ति शुद्धीकरण अर्थात् मनी लाउन्डरिङमा ३९ जना, धितोपत्र ऐन उल्लंघनमा ७९ जना र बैंकिङ कसुरमा चार जनाविरुद्ध अभियोग लगाइएको छ।
मुद्दा दर्ता हुनेबित्तिकै पद गुमाउने सीईओहरूमध्ये पुनर्बीमा क्षेत्रबाट नेपाल रि–इन्स्योरेन्सका सुरेन्द्र थापा र हिमालयन रि–इन्स्योरेन्सकी उपासना पौडेल रहेका छन्। जीवन बीमातर्फ हिमालयन लाइफ इन्स्योरेन्सका कपिल दाहाल निलम्बित भएका छन्।
लघु बीमा क्षेत्रमा भने झनै ठूलो धक्का लागेको छ। लिबर्टी माइक्रो लाइफका रामकुमार यादव, क्रेष्ट माइक्रोका प्रतापमान श्रेष्ठ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नरेश कुमार रोका, गार्डियन माइक्रो लाइफका चिरायू भण्डारी र नेपाल माइक्रो इन्स्योरेन्सका मृगेन्द्र नाथ रिमाल — यी पाँचै जना एकैपटक पदमुक्त भएका छन्।
यो कारबाहीलाई वित्तीय क्षेत्रमा भएका अनियमितताविरुद्ध सरकारले गरेको हालसम्मकै ठूलो एकमुस्त कानुनी पहलका रूपमा हेरिएको छ। मुद्दा दर्ता भएसँगै सम्बन्धित सीईओहरू स्वतः निलम्बनमा परेको र अब अदालती प्रक्रियाले मुद्दाको दिशा निर्धारण गर्ने देखिन्छ।















