१२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा निःशुल्क योग शिविर सम्पन्न
वि.सं.२०८३ असार ७ आइतवार १७:२८
shares

काठमाडौं,७ असार । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा आयोजित एकदिवसीय निःशुल्क योग शिविर भव्य रूपमा सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजना तथा गोरखनाथ कल्याण केन्द्र, नेपाल र नेचुरल साउन्ड हिलिङ इन्टरनेसनल स्कुलको सहआयोजनामा सम्पन्न शिविरमा उत्साहजनक सहभागिता रहेको थियो।
जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, गोरखा जिल्ला अदालतका प्रमुख न्यायाधीश विष्णुप्रसाद गौतम, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर, उपप्रमुख मसलीमाया थोकर पुन, जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, द्रव्शाह क्याम्पसका प्रमुख रामचन्द्र दुवाढी, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्के लगायत सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले आधुनिक जीवनशैलीका कारण बढ्दै गएको मानसिक तनाव, चिन्ता, अवसाद तथा विभिन्न नसर्ने रोगहरूबाट बच्न योग प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले योगलाई केवल शारीरिक अभ्यासका रूपमा नभई स्वस्थ, अनुशासित र सन्तुलित जीवन निर्माण गर्ने जीवनपद्धतिका रूपमा लिनुपर्नेमा जोड दिए ।
“योगले शरीरलाई मात्र स्वस्थ राख्दैन, यसले मन, विचार र व्यवहारलाई समेत सकारात्मक दिशातर्फ उन्मुख गराउँछ,” प्रजिअ श्रेष्ठले भने, “आजको व्यस्त र प्रतिस्पर्धात्मक जीवनमा योगको महत्व झन् बढ्दै गएको छ। त्यसैले प्रत्येक नागरिकले योगलाई आफ्नो दैनिक जीवनशैलीको अभिन्न अंग बनाउन आवश्यक छ।”

उनले जिल्ला प्रशासन कार्यालय नागरिकको समग्र स्वास्थ्य, सचेतना र कल्याणका लागि यस्ता जनहितकारी कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
शिविरमा योग प्रशिक्षक अशोक शर्मा भट्ट, शबनम खड्गी, अच्युतकृष्ण शरण तथा यलिस बन्जारा लगायत प्रशिक्षकले हठयोग, प्राणायाम तथा साउन्ड हिलिङसम्बन्धी प्रयोगात्मक प्रशिक्षण प्रदान गरेका थिए । सहभागीहरूले योगका विभिन्न आसन, श्वास प्रश्वास विधि तथा ध्वनि चिकित्सामार्फत मानसिक शान्ति र आन्तरिक सन्तुलन प्राप्त गर्ने उपायबारे जानकारी लिएका थिए।

कार्यक्रममा गोरखनाथ कल्याण केन्द्र, नेपालका अच्युतकृष्ण शरणले नेपाल योग र अध्यात्मको प्राचीन भूमि भएको उल्लेख गर्दै गोरखा महायोगी गुरु गोरक्षनाथ र माँ गोरखकालीको कृपाले पावन बनेको ऐतिहासिक तथा आध्यात्मिक केन्द्र रहेको बताए । उनले गुरु गोरक्षनाथद्वारा प्रतिपादित हठयोग र साधना परम्पराले मानव जीवनलाई आत्मिक उन्नति र कल्याणतर्फ डोर्याउने विश्वास व्यक्त गर्दै गोरखालाई विश्वको योगको केन्द्रभुमी बनाउन सकिने रणनीतिक योजना रहेको र त्यसका लागि केन्द्रले काम गरिरहेको बताए ।

शिविरमा सहभागी सुरक्षा निकायका कर्मचारी, सरकारी सेवक तथा स्थानीय नागरिकहरूले योगले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको अनुभव साझा गर्दै यस्ता कार्यक्रमलाई गाउँ गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
सभ्य, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको शिविरका आयोजकहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा सहभागीहरूप्रति आभार व्यक्त गरेका छन्। आयोजकका अनुसार यस्ता कार्यक्रमले समाजमा स्वास्थ्य चेतना, सकारात्मक सोच तथा आध्यात्मिक जागरणको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।















