रौतहटमा २३औँ राष्ट्रिय धान दिवस सम्पन्न, कृषि आधुनिकीकरण र स्थानीय विकासमा जोड
वि.सं.२०८३ असार १५ सोमवार १२:३३
shares

रौतहट, १५ असार । २३औँ राष्ट्रिय धान दिवस तथा राष्ट्रिय रोपाइँ दिवसको अवसरमा रौतहटको कटहरिया नगरपालिका-६ फतेपुरमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ केन्द्रीय कार्यसमितिको आयोजनामा भव्य कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल रहेका थिए। विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णा यादव, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतम, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रमोद हरि गुरागाईं , नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिना तथा जिल्ला सभापति मा. जितेन्द्र यादवको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न वक्ताहरूले कृषि क्षेत्रको आधुनिकीकरण, किसानलाई उत्पादनसँग जोड्ने नीति, सिँचाइ, मल–बीउको सहज उपलब्धता तथा कृषि क्षेत्रमा राज्यको लगानी बढाउनुपर्नेमा जोड दिएका थिए।
त्यस अवसरमा गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले स्थानीय विकास र कृषि क्षेत्र एकअर्काका परिपूरक भएको उल्लेख गर्दै कृषिमा आधुनिक प्रविधिको प्रयोग, सिँचाइ पूर्वाधारको विस्तार, किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम तथा उत्पादनमुखी योजनालाई स्थानीय तहले प्राथमिकताका साथ अघि बढाइरहेको बताए। उनले कृषिलाई सम्मानित पेशाका रूपमा विकास गर्दै युवालाई कृषि उद्यममा आकर्षित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
प्रमुख अतिथि प्रदीप पौडेलले किसानको आय वृद्धि र कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्न प्रभावकारी कृषि नीति, बजार व्यवस्थापन र राज्यको लगानी अपरिहार्य रहेको बताए। उनले किसानको श्रमको उचित मूल्य सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे।
राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाइँ कार्यक्रममा नेता, कार्यकर्ता, किसान तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा धान रोप्दै कृषिप्रति सम्मान व्यक्त गरेका थिए।
कार्यक्रम नेपाल किसान महासंघ रौतहट जिल्ला कार्यसमितिको समन्वय तथा नेपाली कांग्रेस रौतहट जिल्ला कार्यसमितिको सहजीकरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।



















