Dhulikhel Eco Banner new

वीरगञ्ज नाकाबाट ११ महीनामा साढे ३१ अर्बको खाद्यान्न आयात

754
shares

काठमाडौं, १६ असार । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष (आव) २०८२/८३ को ११ महीनामा ३१ अर्ब रुपैयाँभन्दा बढी मूल्यको खाद्यान्न आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो मूल्यबराबरको खाद्यान्न र दलहन भित्रिएको हो ।

चालू आवको यो अवधिमा यो नाकाबाट २२ अर्ब ५६ करोड रुपैयाँबराबरको ४ लाख ७३ हजार ४६४ मेट्रिकटन खाद्यान्न भित्रिएको छ । त्यसैगरी ९ अर्ब ११ करोड रुपैयाँको दलहन आयात भएको छ । दुवैको मूल्य जोड्दा ३१ अर्ब ६७ करोड रुपैयाँ हुन्छ ।

तर, गत आव २०८१/८२ को तुलनामा खाद्यान्नको आयात भने घटेको भन्सारको तथ्यांकले देखाएको छ । चालू वर्षको साउनदेखि जेठसम्मको अवधिमा खाद्यान्न आयातको परिमाण र मूल्य दुवैमा कमी आएको हो । यो अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ६४ हजार ४४२ टन कम हो । त्यसवेला २६ अर्ब ७७ करोड रुपैयाँको ५ लाख ३७ हजार ९०६ टन खाद्यान्न आयात भएको थियो ।

चालू आवमा परिमाणका आधारमा सबैभन्दा बढी धान आयात भएको छ । स्वदेशका चामल उद्योगले २ लाख ७९ हजार ५८ टन धान ल्याएका छन् । यो परिमाणको धानका लागि ११ अर्ब ३३ करोड रुपैयाँ रकम बाहिरिएको छ ।

यो वर्ष धान आयातको परिमाण भने घटेको भन्सारको तथ्यांक छ । गत आवको तुलनामा यो वर्ष २९ हजार टनले घटेको हो । अघिल्लो वर्ष धानको आयात परिमाण ३ लाख ८ हजार १४६ टन थियो ।

परिमाण र मूल्य दुवै घट्दा पनि मकै आयात दोस्रो स्थानमा रहेको छ । यो वर्षको ११ महीनामा वीरगञ्ज भन्सार हुँदै नाकाबाट ५ अर्ब ९५ करोड रुपैयाँ मूल्यबराबरको १ लाख ३० हजार ५१२ टन मकै आयात भएको छ ।

अघिल्लो वर्ष १० अर्ब ३८ करोड रुपैयाँ मूल्यबराबरको १ लाख ८१ हजार ८५८ टन मकै भित्रिएको थियो । स्वदेशका पशुपन्छी आहार उत्पादकले कच्चा पदार्थको रूपमा मकै भित्र्याउने गरेका छन् । मकैको आयात ५१ हजार ३४५ टनले घटेको हो ।

चामलको आयात परिमाण भने बढेको छ । ३ अर्ब २९ करोड रुपैयाँको ३३ हजार ७७३ टन चामल आयात भएको छ । गतवर्ष २ अर्ब २६ करोड रुपैयाँबराबरको २३ हजार ५९ टन चामल भित्रिएको तथ्यांक भन्सार कार्यालयसित छ ।

यो अवधिमा माल्ट, गहुँ, ग्लुटेन, कनिका, मकै र अन्य अन्नको च्याख्ला, फपफूलको पिठो, कनिका, गहुँको पिठो, आलुको मैदा, मकैको पिठोलगगायत १७ प्रकारका खाद्यान्न आयात भएको वीरगञ्ज भन्सारका प्रमुख प्रशासक कृष्णप्रसाद मैनालीले बताए ।