Dhulikhel Eco Banner new

मेरिनोको निर्णायक गोलमा पोर्चुगल बाहिरियो, स्पेन क्वार्टरफाइनलमा

416
shares

पोर्चुगललाई १–० ले हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको टेक्ससस्थित अर्लिङ्टनको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा स्पेनले अन्तिम क्षणमा गोल गर्दै पोर्चुगलको चुनौती समाप्त गरेको हो ।

स्पेनको जितमा मिकेल मेरिनो निर्णायक बने । उनले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासलाई सदुपयोग गर्दै गोल गरे । सोही गोल नै स्पेनलाई अन्तिम आठमा पुर्‍याउन पर्याप्त भयो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले सावधानीपूर्वक प्रदर्शन गरेका थिए । निर्धारित समय गोलरहित बराबरीतर्फ अघि बढिरहेको अवस्थामा मेरिनोको गोलले खेलको नतिजा स्पेनको पक्षमा मोडिएको हो ।

हारसँगै पोर्चुगलको विश्वकप यात्रा अन्तिम १६ मै टुंगिएको छ । अघिल्लो संस्करणमा क्वार्टरफाइनलसम्म पुगेको पोर्चुगल यसपटक भने स्पेनविरुद्ध अन्तिम समयमा सम्हालिन सकेन ।

स्पेन भने १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । सन् २०१० मा विश्वकप जितेपछि स्पेन त्यसयता अन्तिम आठमा पुग्न सकेको थिएन । सन् २०१४ मा समूह चरणबाट बाहिरिएको स्पेन २०१८ र २०२२ मा अन्तिम १६ मै रोकिएको थियो ।