Dhulikhel Eco Banner new

सिताराम मावि र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य सम्झौता

1.16K
shares

काठमाडौं, २३ असार । नागार्जुन नगरपालिका–६ स्थित सिताराम माध्यमिक विद्यालय र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यका साथ समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।

नागार्जुन नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाकी कार्यवाहक प्रमुख सुशिला अधिकारीको प्रमुख आतिथ्य तथा वडा नं. ६ का अध्यक्ष देवेन्द्रराज गिरीको सभापतित्वमा एमओयूमा हस्ताक्षर गरिएको हो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, नगर प्रवक्ता महेश रिमाल, शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुँवर, सिताराम माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदीप पुरी, सनमुन विश्वविद्यालयका प्रतिनिधिमण्डल प्रमुख प्रा। चो युन यी, निर्देशक योङ–सुन ओह, अनुवादक तेन्जिन नोर्बु लामा, समाजसेवी केशव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

एमओयू हस्ताक्षरअघि सनमुन विश्वविद्यालयका प्रतिनिधिमण्डलको उपस्थितिमा विद्यालयको नवनिर्मित क्यान्टिन उद्घाटन गरिएको थियो। त्यसपछि विद्यालय प्रशासन, नगरपालिकाका प्रतिनिधि र विश्वविद्यालयका पदाधिकारीबीच आगामी शैक्षिक साझेदारी, शिक्षक तथा विद्यार्थी आदान–प्रदान, अनुसन्धान र सामुदायिक विकासका विषयमा छलफल भएको थियो।

सम्झौताअनुसार दुवै संस्थाबीच शैक्षिक आदान–प्रदान, शिक्षक तथा विद्यार्थीको क्षमता अभिवृद्धि, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सहकार्य गरिनेछ। यस सहकार्यले विद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक सञ्जालसँग जोड्दै विद्यार्थी र शिक्षकका लागि नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

कार्यक्रमअन्तर्गत विद्यालयमा विद्यार्थीको समग्र विकासलाई लक्षित गर्दै प्राविधिक तथा कला, स्वास्थ्य, खेलकुद, करियर निर्माण तथा कोरियाली भाषा र संस्कृतिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यालयका अनुसार यस्ता गतिविधिले विद्यार्थीमा ज्ञान, सीप, आत्मविश्वास र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुर्‍याएको छ।

यस अवसरमा सनमुन विश्वविद्यालयले नेपालमा सञ्चालन गरिरहेको ‘ग्लोबल कम्युनिटी’ अन्तर्राष्ट्रिय स्वयंसेवा कार्यक्रमबारे पनि जानकारी गराइएको थियो। कार्यक्रममार्फत कोरियाली भाषा तथा संस्कृति शिक्षण, कला प्रशिक्षण, करियर अभिमुखीकरण, खेलकुद, स्वास्थ्य सेवा शिविर, सामुदायिक सेवा, मितेरी कार्यक्रम, वृक्षारोपण तथा सांस्कृतिक आदान–प्रदानका गतिविधि सञ्चालन गरिने जनाइएको छ।

विश्वविद्यालयका अनुसार उक्त कार्यक्रमले स्थानीय समस्याको पहिचान र समाधान खोज्ने प्रक्रियामार्फत विद्यार्थीमा नेतृत्व क्षमता, सिर्जनशीलता, सेवाभाव तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। साथै बहुसांस्कृतिक आदान–प्रदानमार्फत समावेशी समाज निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

दक्षिण कोरियाबाट आएका २८ सदस्यीय विद्यार्थी तथा कर्मचारीको टोलीले नागार्जुन नगरपालिका र स्थानीय विद्यालयसँग सहकार्य गर्दै शैक्षिक सहयोग, स्वयंसेवा, नेतृत्व विकास तथा सांस्कृतिक सम्बन्ध विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ। कार्यक्रमअन्तर्गत वृक्षारोपण तथा समापन समारोहसमेत आयोजना गरिने कार्यतालिका सार्वजनिक गरिएको छ।

सोही अवसरमा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय सरकार, सामुदायिक विद्यालय र अन्तर्राष्ट्रिय शैक्षिक संस्थाबीचको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको व्यक्तित्व विकास तथा अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। सहभागीहरूले नेपाल र दक्षिण कोरियाबीचको शैक्षिक, सांस्कृतिक तथा सामुदायिक सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा यो सहकार्य महत्वपूर्ण कदम भएको बताएका छन्।