‘पर्यटनलाई नेपालको पहिलो राष्ट्रिय उद्योग बनाऔँ’ अभियानले लिँदैछ राष्ट्रिय स्वरूप
वि.सं.२०८३ साउन १८ सोमवार १४:३२
shares

काठमाडौं, १८ साउन । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सकी महासचिव युबिका भण्डारीले सुरु गरेको ‘पर्यटनलाई नेपालको पहिलो राष्ट्रिय उद्योग बनाऔँ’ अभियानले देशभर व्यापक समर्थन पाउन थालेको छ। पर्यटन क्षेत्रसँगै उद्योग, होटल, हवाई सेवा, सञ्चार, शिक्षा, कला तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरू अभियानमा जोडिन थालेपछि यसले राष्ट्रिय स्वरूप लिएको छ।
अभियानमा सयौँ व्यक्तिले प्रत्यक्ष ऐक्यबद्धता जनाइसकेका छन् भने हजारौँ नागरिकले सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमार्फत समर्थन व्यक्त गरिरहेका छन्। अभियानले पर्यटनलाई केवल एउटा व्यवसाय वा मन्त्रालयको सीमित विषय नभई कृषि, हस्तकला, यातायात, उड्डयन, संस्कृति, शिक्षा, स्वास्थ्य, प्रविधि र स्थानीय उद्यमसँग जोडिएको राष्ट्रिय आर्थिक आधारका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
अभियानकी प्रारम्भकर्ता युबिका भण्डारीले पर्यटनलाई पहिलो राष्ट्रिय उद्योग घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार स्पष्ट नीति, पर्याप्त बजेट, आधुनिक पूर्वाधार, अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, सहज हवाई पहुँच, डिजिटल रूपान्तरण, सीप विकास र निजी क्षेत्रसँग प्रभावकारी सहकार्य आवश्यक रहेको बताइन्।
उनका अनुसार पर्यटनको विकासले होटल व्यवसाय मात्र होइन, किसानको उत्पादनको बजार विस्तार, स्थानीय युवालाई रोजगारी, संस्कृति संरक्षण तथा देशभर आर्थिक गतिविधि विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याउँछ। अभियानले पर्यटन क्षेत्रभित्र सहकार्य र साझा उद्देश्यको वातावरण सिर्जना गरेको उल्लेख गर्दै सरकारले पर्यटनलाई राष्ट्रिय प्राथमिकताको केन्द्रमा राखी दीर्घकालीन नीति, स्थिर बजेट र प्रभावकारी कार्ययोजना अघि बढाउनुपर्ने माग गरेको छ।
















