२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
१५ जनाले पाए एक–एक लाख
वि.सं.२०८३ साउन २२ शुक्रवार १०:०७
shares

काठमाडौं — बिल लिएर वस्तु तथा सेवा खरिद गर्ने उपभोक्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार योजनाको पहिलो बम्पर नतिजा सार्वजनिक भएको छ। साउनको पहिलो १५ दिनको छनोटमा शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।
आन्तरिक राजस्व विभागका अनुसार १० लाख रुपैयाँ जित्ने उपभोक्ताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ। विभागले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विजेताको विवरण सार्वजनिक गरेको हो। बम्पर विजेतासँगै पहिलो १५ दिनमा अन्य १५ उपभोक्ताले एक–एक लाख रुपैयाँ नगद उपहार जितेका छन्।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ देखि उपभोक्तालाई सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानी विकास गराउने तथा व्यवसायीलाई कारोबार औपचारिक प्रणालीमा देखाउन प्रोत्साहित गर्ने उद्देश्यले यस्तो योजना सुरु गरेको हो।
कार्यक्रमको मूल उद्देश्य उपहार वितरण गर्नु मात्र नभई दैनिक आर्थिक कारोबारलाई कर प्रणालीसँग जोड्नु हो। उपभोक्ताले प्रत्येक खरिदमा बिल माग्ने क्रम बढे व्यवसायीमाथि वास्तविक कारोबार देखाउने दबाब बढ्ने र त्यसबाट कर चुहावट नियन्त्रणमा सहयोग पुग्ने सरकारको अपेक्षा छ।
योजनामा सहभागी हुन नगदमा गरिएको खरिदका हकमा उपभोक्ताले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गरेको सक्कली बिल सुरक्षित राख्नुपर्नेछ। यस्तो बिललाई विभागले सञ्चालनमा ल्याएको prize.ird.gov.np प्रणालीमा दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
नगद कारोबार गर्ने उपभोक्ताले बिलको विवरण आफैं प्रणालीमा प्रविष्ट गर्नुपर्ने भए पनि क्यूआरमार्फत गरिएको भुक्तानीका लागि प्रक्रिया केही फरक छ। बैंक तथा डिजिटल वालेटको क्यूआर प्रणालीबाट गरिएको योग्य कारोबार स्वतः उपहार प्रणालीसँग जोडिने भएकाले त्यस्ता उपभोक्ताले छुट्टै बिल इन्ट्री गर्न नपर्ने विभागले जनाएको छ।
बैंक वा वालेटको क्यूआरमार्फत १०० रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भने आफ्नो कारोबारको प्रमाण सुरक्षित राख्नुपर्नेछ। विभागका अनुसार त्यस्तो कारोबारको ट्रान्ज्याक्सन नम्बर नै उपहार योजनाका लागि पहिचान नम्बरका रूपमा प्रयोग हुने व्यवस्था गरिएको छ।
योजनाको संरचनाअनुसार हरेक दिन एक जना उपभोक्तालाई कर कट्टीपछि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। यसअनुसार पहिलो १५ दिनका १५ दैनिक विजेताले एक–एक लाख रुपैयाँ प्राप्त गरेका हुन्। त्यसबाहेक प्रत्येक १५ दिनमा एक जना उपभोक्तालाई १० लाख रुपैयाँको बम्पर उपहार प्रदान गरिने व्यवस्था छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा गरेका थिए। बजेट घोषणापछि अर्थ मन्त्रालयले असारको अन्तिम साता कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो।
योजनाले विशेषगरी खुद्रा कारोबारमा बिल लिने संस्कृतिलाई विस्तार गर्ने लक्ष्य राखेको छ। नेपालमा दैनिक उपभोगका धेरै कारोबार अझै औपचारिक बिलबिना हुने गरेका कारण उपभोक्तालाई प्रत्यक्ष आर्थिक प्रोत्साहन दिएर बिल माग्ने व्यवहार बढाउने सरकारको रणनीति देखिन्छ।
उपभोक्ताले बिल माग्न थालेपछि व्यवसायीले बिक्री कारोबार अभिलेखमा देखाउनुपर्ने अवस्था सिर्जना हुन्छ। यसले मूल्य अभिवृद्धि कर, आयकरलगायत करको आधार विस्तार गर्न र वास्तविक कारोबार लुकाउने प्रवृत्ति घटाउन मद्दत पुग्न सक्ने सरकारको अपेक्षा छ।
क्यूआर कारोबारलाई स्वतः योजनामा समावेश गर्ने व्यवस्थाले डिजिटल भुक्तानीलाई पनि थप प्रोत्साहन दिन सक्ने देखिन्छ। नगद कारोबारमा बिल सुरक्षित राखेर छुट्टै विवरण दर्ता गर्नुपर्ने भए पनि डिजिटल भुक्तानीमा कारोबारको इलेक्ट्रोनिक रेकर्ड रहने भएकाले उपभोक्ताका लागि प्रक्रिया तुलनात्मक रूपमा सहज हुनेछ।
पहिलो चरणमै २५० रुपैयाँको सामान्य खरिदबाट १० लाख रुपैयाँको बम्पर उपहार परेको घटनाले साना खुद्रा कारोबारसमेत योजनामा समेटिने देखाएको छ। सरकारले यसलाई उपभोक्तालाई बिल माग्न प्रेरित गर्ने माध्यमका रूपमा अघि सारे पनि कार्यक्रमको वास्तविक प्रभाव भने आगामी महिनामा बिल जारी हुने क्रम, डिजिटल कारोबारको हिस्सा र कर संकलनमा आएको परिवर्तनबाट मापन हुनेछ।















