ग्लोबल आइएमई ब्यालेन्स फण्ड -१ इकाई बिक्रीको म्याद थप
वि.सं.२०७९ असार २६ आइतवार ०९:५०
shares

काठमाडौं, २६ असार । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ग्लोबल आइएमई ब्यालेन्स फण्ड – १ को असार २२ गतेदेखि विक्री खुला भएको १२ करोड इकाईमा आवेदन दिने समय थप भएको छ । फण्डको इकाईमा आज (असार २४ गते) सम्म आवेदन दिन सकिने भनियता पनि माग बमोजिम आवेदन नपरेको हुनाले साउन ४ गतेसम्म थप गरिएको हो ।
फण्डले प्रतिइकाई रू. १० अंकित मूल्यका रू. १ अर्ब २० करोड बराबरको १२ करोड इकाई विक्री खुला गरेको हो । निष्कासन गरिने उक्त इकाईमध्ये ६ करोड इकाई न्युनतम बिक्री हुनुपर्नेछ ।
कुल बिक्री भएको इकाईको १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटललाई १ दशमलव ५० प्रतिशत अर्थात् १८ लाख इकाई तथा कोष प्रबन्धकलाई १३ दशमलव ५० प्रतिशत वा १ करोड ६२ लाख इकाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा बिक्री गरिने छ ।
आवेदकले १०० इकाईदेखि २० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरुले बिक्री प्रबन्धकसँगै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर वेबसाइट र मेरो शेयर एपबाट पनि यस इकाई खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।















